वीरगञ्ज, पर्सा। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले हरि खेतान बहुमुखी क्याम्पस कुनै पनि व्यक्ति वा समूहको निजी राजनीतिक गढ नभई विद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदायको सामूहिक सम्पत्ति भएको स्पष्ट पारेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै सर्राफले क्याम्पसलाई राजनीतिक शाखा कार्यालयजस्तै सञ्चालन गर्ने प्रवृत्ति तुरुन्त अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। जनमत पार्टीका पर्सा क्षेत्र नं. १ का प्रस्तावित उम्मेदवारसमेत रहेका सर्राफले क्याम्पसको ऐतिहासिक, सामुदायिक तथा शैक्षिक गरिमा हजारौँ विद्यार्थीको मेहनत, शिक्षकहरूको योगदान र समाजको निरन्तर सहयोगबाट निर्माण भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थका लागि यसलाई दूषित गर्न खोज्ने प्रयास अस्वीकार्य हुने बताएका छन्।
उनले हरेक वर्ष हजारौँ विद्यार्थीले यही क्याम्पसबाट आफ्नो भविष्य निर्माण गरिरहेको भन्दै उनीहरूको पढाइ कुनै पनि हालतमा अवरुद्ध हुन नदिइनुपर्ने धारणा राखे। कुनै पनि दल, गुट वा स्वार्थी समूहले आफ्नो एजेन्डाका लागि विद्यार्थीको भविष्य बन्धक बनाउन नपाउने भन्दै उनले स्पष्ट चेतावनी दिए।
सर्राफका अनुसार क्याम्पसलाई सुरक्षित, पारदर्शी र गुणस्तरीय रूपमा सञ्चालन गर्न आवश्यक सबै कदम दृढतापूर्वक चालिनुपर्छ। साथै पूर्वाधार विकास, आधुनिक शैक्षिक वातावरण निर्माण तथा शान्त शैक्षिक माहोललाई प्राथमिकतामा राखिनुपर्ने उनले बताए।
क्याम्पसको स्थिरता बिगार्ने, पारदर्शिता नष्ट गर्ने वा शिक्षालाई व्यापारमा रूपान्तरण गर्ने शैक्षिक माफियाविरुद्ध कडा कानुनी कारबाही अनिवार्य रहेको सर्राफको भनाइ छ। “हाम्रो उद्देश्य स्पष्ट छ—हरि खेतान बहुमुखी क्याम्पसलाई शिक्षा, शान्ति र गुणस्तरको केन्द्रका रूपमा सुरक्षित राख्ने,” उनले भने।
अन्त्यमा उनले हरि खेतान बहुमुखी क्याम्पस राजनीतिक खेल मैदान नभई ज्ञान, गरिमा र भविष्य निर्माणको प्रतिष्ठान भएको सन्देश कडा, स्पष्ट र अविचल रूपमा स्थापित हुनुपर्नेमा जोड दिएका छन्।