बिनोद परियार
वीरगंज महानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय गोपाल गिरीको निधन भएको माघ १ गते (माघे सङ्क्रान्ति) २२ वर्ष पूरा हुने छ। उहाँको मृत्यु स्वाभाविक नभई तत्कालीन माओवादी समूहद्वारा चन्दासम्बन्धी विषयमा योजनाबद्ध रूपमा गरिएको हत्या थियो।
माओवादी समूहले नगरपालिकाको कोषबाट पाँच लाख रुपैयाँ चन्दा माँग गरेपछि स्व. गिरीले नगरको पैसा दिन अस्वीकार गर्दै व्यक्तिगत रूपमा पाउने भत्ताबाट केही सहयोग गर्न सक्ने बताएका थिए। यही कारण उहाँलाई वीरगंजको बहुअरी क्षेत्रमा ‘वार्ता’ को बहानामा बोलाई धोका दिई हत्या गरिएको थियो। उक्त घटनाले वीरगंजवासीहरूले एक होनहार, दूरदर्शी र अभिभावकजस्तै नेतृत्व गुमाउनु परेको पीडा आजसम्म बोकिरहेका छन्।
स्व. गोपाल गिरी केवल आर्थिक व्यवस्थापन वा राजनीतिमा मात्र सीमित व्यक्तित्व थिएनन्। उहाँ समाजसेवा, परोपकार, पत्रकारिता, विकासका स्पष्ट भिजन–मिसनका साथै कला र संस्कृतिमा पनि गहिरो रुचि र योगदान राख्ने बहुआयामिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। यसै सन्दर्भमा वीरगंजका एकताकाका नामुद क्लब युवा स्पोर्ट्स क्लब, गोस्वारा रोडद्वारा वि.सं. २०५७ मा प्रकाशित ‘युवा सन्देश’ स्मारिकामा उहाँको कला–सांस्कृतिक योगदानको उल्लेख गरिएको छ।
क्लबको आर्थिक स्रोत जुटाउने उद्देश्यले स्व। गिरीले भोजपुरी भाषामा “अब के फरियाई” शीर्षकको नाटक लेखेका थिए। उक्त नाटक वीरगंजको नगर सभा गृह (टाउन हल) मा मञ्चन गरिएको थियो। नाटकमा हरिशचन्द्र पाण्डेय, राजेन्द्र अर्याल, सुनिल शर्मा, सन्जु अमात्य, किशोरेन्द्र श्रेष्ठ, बिजया गिरी, रेखा, बिना, शोभा लगायत मोहन विराग, निरञ्जन भट्ट, रविन्द्र श्रेष्ठ, हरिरत्न तुलाधर, विजय विश्वकर्मा, रवि श्रेष्ठ तथा बाल कलाकार अन्नपूर्णा मानन्धरले अभिनय गरेको स्मारिकामा उल्लेख छ। विभिन्न पात्रमार्फत फरक–फरक विचार प्रस्तुत गर्ने उहाँको सृजनशील क्षमताले आज पनि सबैको हृदयमा सम्मान र सलाम पाउँछ।

उहाँको निधनपछि पनि नेपाल पत्रकार महासंघ, पर्साले उहाँलाई बिर्सेको छैन। महासंघले प्रत्येक वर्ष स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार आयोजना गर्दै उहाँको नाम र योगदानलाई जीवित राख्ने प्रयास गर्दै आएको छ। यस वर्ष उक्त पुरस्कारबाट सम्मानित हुने क्रियाशील पत्रकार गोविन्द देवकोटालाई हार्दिक बधाई तथा शुभकामना ।
