वीरगञ्ज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज मेयर पदबाट राजीनामा नदिने निर्णय गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागे पनि पद छोड्नुको सट्टा उम्मेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुने कानुनी प्रावधानलाई आधार बनाएका छन् ।
उनका सल्लाहकार तथा सचिवालय निकट स्रोतहरूका अनुसार, कानुन व्यवसायीहरूसँगको परामर्शपछि निष्कर्षमा पुगेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार बहालवाला स्थानीय तहको प्रमुखले संसदीय निर्वाचनमा उम्मेदवारी दिएमा पद स्वतः रिक्त हुने व्यवस्था छ । सोही कारण उनले छुट्टै राजीनामा दिनु नपर्ने भएकाले यो बाटो अपनाएका हुन् ।
यसैबिच, बालेन आज रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) पुग्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने र दिउँसो २ बजेदेखि बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुने तयारी छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकपछि सभापति रवि लामिछानेसहित बालेन र अन्य नेताहरू साँझ ५ बजे जनकपुरतर्फ प्रस्थान गर्ने कार्यतालिका छ ।
बालेन रास्वपाका वरिष्ठ नेता हुन् । उनी पार्टीमा प्रवेश गरेपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी हुँदै छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सि ९माघ ६० उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यसअघि विभिन्न स्रोतहरूले बालेनले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि, अन्तिम समयमा अनिश्चित राजनीतिक अवस्था र कानुनी प्रावधानलाई ध्यानमा राख्दै राजीनामा होल्ड गरिएको निकटस्थहरूले जानकारी दिएका छन् ।
राजीनामा नदिने निर्णयले काठमाडौँ महानगरको नेतृत्वमा केही समयका लागि निरन्तरता कायम रहने देखिए पनि उम्मेदवारी दर्तापछि मेयर पद रिक्त हुने हुँदा उपमेयरले कार्यवाहकको जिम्मेवारी सम्हाल्नेछन् । बालेनको कदमले राष्ट्रिय राजनीतिमा उनको प्रवेशलाई थप रोचक बनाएको छ ।