८ माघ, वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा ’प्याब्सन पर्सा स्तरीय टी-२० नकआउट क्रिकेट प्रतियोगिता’ आज (बिहीबार) देखि वीरगञ्जमा सुरु हुँदैछ । विद्यार्थीहरूमा लुकेको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस बृहत् खेलकुद महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
बुधबार वीरगञ्जस्थित टीबी साह क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले क्रिकेट प्रतियोगितामा प्याब्सनसँग आबद्ध ४० वटा विद्यालयको सहभागिता रहने जानकारी दिए । आजबाट सुरु भईरहेको यस क्रिकेट प्रतियोगिताका सबै खेल १५-१५ ओभरका हुनेछन् र दैनिक ३ खेल सञ्चालन गरिनेछ । यस प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन् भने यसको मुख्य प्रायोजन नेपाल मेडिसिटी हस्पिटलले गरेको छ ।
यसैगरी, माघ १० गतेदेखि मधेस प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा जुनियर फुटबल प्रतियोगिता आयोजना हुनेछ । फुटबलतर्फ २१ वटा विद्यालय सहभागी हुनेछन् । आयोजकका अनुसार जुनियर फुटबलमा ४ फिट १० इन्चसम्म उचाइ भएका विद्यार्थीलाई मात्र सहभागी गराइनेछ । फुटबल प्रतियोगिताको प्रायोजन राज होजियारीले गरेको छ ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यालय स्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुयाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उद्घाटन सत्रलाई विशेष बनाउन ३० वटा विद्यालयको मार्चपास समावेश गरिएको छ, जसमा विभिन्न भाषा, धर्म र संस्कृति झल्किने भेषभूषा प्रदर्शन गरिनेछ ।
प्रतियोगितामा क्रिकेटतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । फुटबलतर्फ विजेताले ८ हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । माघ २४ गतेसम्म चल्ने यस प्रतियोगितामा सहभागी सबै खेलाडीहरूको २५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिएको छ । करिब १२ लाख ७० हजार रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगिताले पर्साको शैक्षिक र खेलकुद वातावरणमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।