नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण हुने विषयमा केन्द्रित रही पर्सामा एक विचार गोष्ठी सम्पन्न भएको छ। पर्सा जिल्लाको वीरगञ्जस्थित टाउनहल पार्टी प्यालेसमा अंकुश मिडिया प्रा।लि।को आयोजनामा उक्त विचार गोष्ठी सम्पन्न भएको हो। अंकुश दैनिकका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले नेपाल–भारत सम्बन्ध केवल कूटनीतिक तहमा मात्र सीमित नरही जनस्तरसम्म गहिरो रूपमा जोडिएको उल्लेख गर्नुभयो। उहाँले सीमावर्ती क्षेत्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउन मिडियाले सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। तथ्यपरक र सन्तुलित समाचारले दुई देशबीच आपसी विश्वास अभिवृद्धि हुने उहाँको भनाइ थियो।
विचार गोष्ठीमा नेपाल–भारत पत्रकारिताबीचको सहकार्य, सीमावर्ती क्षेत्रमा समाचार संकलन गर्दा देखिने व्यावहारिक चुनौती, पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रता तथा जिम्मेवार पत्रकारिताको भूमिकाबारे गहन छलफल गरिएको थियो। वक्ताहरूले सीमावर्ती क्षेत्रमा कार्यरत पत्रकारहरूले विभिन्न जोखिमको सामना गर्नुपरेको भन्दै उनीहरूको सुरक्षाका विषयमा राज्य र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले नेपाल–भारत पत्रकारिताबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो। यस्तै, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जिम्मेवार पत्रकारिताले द्विपक्षीय सम्बन्धमा देखिने गलत बुझाइ हटाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। भारतीय पक्षबाट सहभागी भारतीय पत्रकार मण्डलका नेता तथा आईएफजे उत्तराखण्डका अध्यक्ष बाला भाष्करले सीमापार पत्रकारितामा साझा समस्या र साझा अवसर रहेको बताउँदै दुवै देशका पत्रकारबीच अनुभव आदान–प्रदान आवश्यक रहेको धारणा राख्नुभयो।
यसैगरी, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बंजारा तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले समेत आ–आफ्नो धारणा राख्दै सीमावर्ती पत्रकारितालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
गोष्ठीमा नेपाल र भारतका गरी करिब ५० जना पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सीमावर्ती क्षेत्रको पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नरही आपसी समझदारी र सम्बन्ध मजबुत बनाउने सेतुको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेका छन्। आयोजकका अनुसार, गोष्ठीले सीमावर्ती क्षेत्रको पत्रकारिता थप जिम्मेवार, सुरक्षित र प्रभावकारी बनाउन नेपाल–भारतका मिडियाबीच आपसी सहकार्य, संवाद र विश्वास अभिवृद्धि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।