वीरगञ्ज । आज देशभरि सहित मधेश प्रदेशमा पनि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । मधेश प्रदेशको निर्वाचन महेन्द्र नारायण निधि प्रतिष्ठानमा बिहान ९ बजेदेखि ३ बजेसम्म हुने र त्यसको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा चार सीटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहितका दलका ११ जनाले उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा दलित, अल्पसङ्ख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुनेछ ।
निर्वाचनमा कांग्रेस—एमाले—जसपा नेपाल गठबन्धनमा छन भने नेकपा एक्लै चारवटै क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेका छन् । जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्ण, दलिततर्फ रौतहटका धर्मेन्द्र पासवान, महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवार रहेको छ ।
जसपाको समर्थनमा लोसपाका ठाकुर बनेपनि जसपा नेपालले छुट्टै आफ् नो उम्मेदवार खडा गरेको थिो । जसपा नेपालबाट अल्पसंख्यकबाट शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली दास उम्मेद्वार खडा गरेका थिए । हुनत दल एकीकरणको बेला जसपा नेपालबाट दिइएको उम्मेदवारी निस्कृत पार्ने सहमति भएको थियो ।
त्यस्तै नेकपाबाट अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो । कांग्रेस—एमाले—जसपा नेपालबीच गठबन्धन रहेपनि प्रतिनिधि सभा निर्वाचनका लागि गठबन्धन आबद्ध दलहरु एकअर्काको प्रतिष्पर्धी भएको कारण त्यसको असर राष्ट्रिय सभा निर्वाचनमा पर्न सक्ने आंकलन गरिदैंछ ।
हुनत गठबन्धन दलका नेताहरुले प्रतिनिधि सभा सदस्यको निर्वाचनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा असर पार्न नसक्ने दाबी गरिरहेका छन् ।
कसको मतभार कति?
मधेश प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ छ भन्ने २६६ जना पालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १९ छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा कुल १० हजार ५८५ मतभार रहेको छ ।
आइतवार हुने राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपाल गठबन्धनको बलियो पक्ष देखिएका छन् । कांग्रेस–एमाले– जसपा नेपाल गठबन्धनको पक्षमा ८ हजार १८६ मतभार सुरक्षित देखिएको छ, जसले गठबन्धनलाई बलियो अवस्थामा देखिन्छ ।
मधेश प्रदेशमा रहेका १०७ प्रदेश सभा सदस्य २७२ सथानीय तह जनप्रतिनिधि कायम रहेकोमा केही मतदाता कारवाहीमा परेपछि निर्वाचन आयोगले प्रदेश सभातर्फ १०४ र स्थानीय तर्फ २६७ मतदाता आयोगले कायम गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन आयोग कार्यालयका अनुसार प्रदेश सभातर्फ ३ जना र स्थानीय तहतर्फ ५ जना जनप्रतिनिधि निलम्बनमा परेकाले हाल प्रदेश सभा सदस्यमा १०४ र २६७ जना मतदाता कायम गरिएको छ । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ ।
प्रदेशसभातर्फ ५ हजार ५१२ र स्थानीय तहतर्फ ५ हजार ७३ मतभार रहेको छ । गठबन्धनको पक्षमा प्रदेशसभाबाट ३ हजार ८१६ र स्थानीय तहका जनप्रतिनिधिबाट ४ हजार ३७० मतभार प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । दलगत मतभार विवरण अनुसार नेपाली कांग्रेससँग २२ प्रदेशसभा सदस्य र १०१ स्थानीय तहका प्रमुख–उपप्रमुख छन्, जसबाट ३ हजार ४८५ मतभार बनेको छ ।
नेकपा एमाले दोस्रो स्थानमा रहँदै २४ प्रदेशसभा सदस्य र ५५ स्थानीय तहका प्रतिनिधिबाट २ हजार ३१७ मतभार रहेको छ । तेस्रो शक्तिका रूपमा जसपा नेपाल देखिएको छ । जसपाका १८ प्रदेशसभा सदस्य र ५० स्थानीय तहका प्रतिनिधिबाट १ हजार ९०४ मतभार रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ प्रदेश सांसद र २४ स्थानीय तहका प्रतिनिधिबाट ८८० मतभार कायम छ ।
माओवादी केन्द्रसँग ९ प्रदेश सांसद र १६ स्थानीय तहका प्रतिनिधिबाट ७८१ मतभार, जबकि नेकपा (एकीकृत समाजवादी) सँग ७ प्रदेश सांसद र ११ स्थानीय तहका प्रतिनिधिबाट ५८० मतभार रहेको छ।
यता जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी तथा केही स्वतन्त्र जनप्रतिनिधि भने कुन गठबन्धनलाई समर्थन गर्ने कुरा गौण छ । जनमत पार्टीसँग १३ प्रदेश सांसद र ३ स्थानीय तहका प्रमुख–उपप्रमुखबाट ७४६ मतभार छ ।
नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टीका समान १र१ प्रदेशसभा सदस्यबाट ५३–५३ गरि १५९ मतभार रहेको छ । स्वतन्त्रतर्फ ३ स्थानीय तहका प्रतिनिधिबाट ५७ मतभार रहेको छ ।