वीरगञ्ज । चौथो संस्करणको श्री शंकरलाल केडिया स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि डी.ए.भी. आर.बी. केडिया स्कूलको आयोजनामा सुरु भई हिजो (शनिबार) सम्पन्न भएको छ ।। स्वर्गीय शंकरलाल केडियाको ९०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरीका डीएसपी विष्णुहरि घिमिरेले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै डीएसपी घिमिरेले खेलकुदले अनुशासन, नियमपालन तथा शारीरिक–मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
डी.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानसँगै व्यवसायिक विकासमा समेत टेवा पुर्याउने उल्लेख गर्दै विद्यालयले प्रतियोगिता आयोजना गरेर खेलकुद क्षेत्रमा योगदान पुर्याउने उद्देश्य लिएको बताउनुभयो। उद्घाटन समारोह सुनील केडियाको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतियोगितामा डी.ए.भी., डी.पी.एस., क्याम्ब्रिज, मोडर्न, लिटल फ्लावर, कादम्बरी, मुनलाइट, जीवन ज्योति लगायत १४ विद्यालयको सहभागिता रहेको थियो। फाइनल खेलमा मुनलाइट मावि विजेता बन्दै यस वर्षको केडिया स्मृति ट्रफी हात पार्न सफल भएको छ भने लिटल फ्लावर उपविजेता बनेको छ।
कार्यक्रममा पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, विभिन्न विद्यालयका प्रिन्सिपल, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।