ठोरी । जिराभवानी गाउँपालिकाको जीतपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत चुनावी कार्यक्रमको रूपमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गरी आयोजित उक्त भेलामा संगठन सुदृढीकरण, मतदाता परिचालन तथा प्रभावकारी चुनावी रणनीतिबारे विस्तृत छलफल गरिएको जसपा नेपालले जनाएको छ।
भेलामा पूर्व मुख्यमन्त्री तथा जसपा नेपालका वरिष्ठ नेता लालबाबु राउत, प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। कृपासुन्दर चौधरी, शशीकपुर मिया, मोहनलाल चौधरी, प्रदेशसभा सदस्य सिंगासन साह, बीरेन्द्र यादवलगायत स्थानीय नेता, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमस्थलमा सहभागीहरूले “छाता छाप जिन्दाबाद, जिन्दाबाद” भन्ने नाराबाजी गर्दै पार्टीको चुनाव चिन्हप्रति समर्थन जनाएका थिए। नाराबाजीले कार्यक्रमस्थलको वातावरण उत्साहपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
भेलालाई सम्बोधन गर्दै जसपा नेपालका स्थानीय नेताहरूले निर्वाचन क्षेत्र नं. ४ मा पार्टीको जनाधार विस्तार हुँदै गएको दाबी गरे। उनीहरूले सामाजिक न्याय, समावेशिता र संघीयताको मुद्दामा जसपा नेपाल दृढ रहेको उल्लेख गर्दै कार्यकर्तालाई घर–घरमा पुगेर पार्टीका एजेन्डा जनतामाझ पुर्याउन आग्रह गरेका छन्।
नेताहरूले संगठनलाई अझ बलियो बनाएर निर्वाचनमा निर्णायक भूमिका खेल्न सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।