पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नं. २ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक तथा चुनावी रणनीति र क्षेत्रका विविध जनसमस्याका विषयमा व्यापक छलफल गरिएको पार्टी स्रोतले जनाएको छ।
भेलामा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी तथा उत्तरदायी राजनीतिक अभ्यासलाई पार्टीको मुख्य एजेन्डा बनाउँदै नागरिकको आवाज सशक्त रूपमा संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै वक्ताहरूले परम्परागत राजनीति नागरिकमैत्री हुन नसकेको उल्लेख गर्दै नयाँ सोच र कार्यशैली अपरिहार्य भएको बताएका थिए।
कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा जनतामाझ पुग्ने रणनीतिबारे समेत छलफल गरिएको जनाइएको छ।
भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले परम्परागत राजनीतिक अभ्यासबाट अलग रही नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसै दिशामा अघि बढिरहेको बताएका थिए।
त्यसैगरी, आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई विजय गराउने रणनीतिबारे समेत गम्भीर छलफल भएको जनाइएको छ। निर्वाचनमा पार्टीको पकड मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विषयमा कार्ययोजना तयार गरिएको बताइएको छ।
भेलाको अवसरमा नयाँ तथा पुराना कार्यकर्ताबीच आपसी परिचय र समन्वय विस्तार हुनुका साथै संगठनात्मक एकता थप मजबुत भएको सहभागीहरूले बताएका छन्। पार्टीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय स्तरमै नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनआधारित राजनीति अघि बढाउने जनाएको छ।