वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–स्थित मितेरी पुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको सोमबार एक विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको छ।
“मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिकाको सहयोग तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त सीमा सुरक्षा पोष्टको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको हो।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी प्रमुख युवराज कटवाललगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले खुला सीमाका कारण उत्पन्न हुने सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै सीमा क्षेत्रमा निगरानी प्रणाली सुदृढ गर्दै आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन नवनिर्मित सीमा सुरक्षा पोष्ट प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।
नवनिर्मित पोष्ट सञ्चालनमा आएपछि मितेरी पुल क्षेत्रमा सुरक्षा व्यवस्थापन, निगरानी तथा समन्वय कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले सीमा अपराध नियन्त्रण, यात्रु तथा सवारी साधनको आवागमन सहज बनाउन सहयोग पुग्ने सुरक्षा निकायको भनाइ छ।
स्थानीय सरोकारवालाहरूले सीमा सुरक्षा पोष्टले सुरक्षा सुदृढीकरणसँगै मितेरी पुल क्षेत्रको सौन्दर्य र वीरगञ्ज महानगरको पहिचानलाई समेत सकारात्मक रूपमा अघि बढाउने बताएका छन्।