युरोपेली सङ्घ (ईयू) मा गएको डिसेम्बरमा पहिलो पटक पेट्रोलबाट चल्ने भन्दा विद्युतीय कारहरूको बिक्री बढेको छ । यद्दपि हाइब्रिड कारहरूले बजारको सबैभन्दा ठूलो समग्र हिस्सा ओगटेका अटो उद्योग समूह (एसीईए) को तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
एसीईएका अनुसार सन् २०२५ मा ईयूभर झन्डै १८ लाख नयाँ गाडी दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ८ प्रतिशतको वृद्धि हो । यद्यपि नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा निकै तल रहेको छ ।
समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–विद्युतीय गाडीहरूको माग निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको छ ।
गएको वर्ष हाइब्रिड–विद्युतीय गाडीको बिक्री १३ दशमलव ५ प्रतिशतले वृद्धि भई युरोपेली सङ्घको कुल नयाँ कार बिक्रीको ३४ दशमलव ५ प्रतिशत पुगेको छ । यस्तै पेट्रोलबाट चल्ने कारको बजार हिस्सा २६ दशमलव ६ प्रतिशतमा सीमित रहेको थियो ।
यसैबीच ब्याट्री–विद्युतीय गाडीको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७ दशमलव ४ प्रतिशत पुगेको छ । प्लग–इन हाइब्रिड गाडीको बिक्री पनि गएको वर्ष बढेको देखिएको छ । तर परम्परागत पेट्रोल र डिजेलबाट चल्ने गाडीको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ ।
पेट्रोल र डिजेलबाट चल्ने कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५ दशमलव २ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५ दशमलव ५ प्रतिशतमा झरेको छ ।
उत्सर्जनसम्बन्धी नियम खुकुलो पार्ने प्रस्तावबीच पनि विद्युतीय गाडीको माग तीव्र रूपमा बढेको छ । ईयूले सन् २०३५ देखि परम्परागत इन्धनबाट चल्ने कार प्रतिबन्धको योजना परिमार्जन गरे पनि विश्लेषकहरूले विद्युतीय गाडीको लोकप्रियता अझ बढ्ने अनुमान गरेका छन् ।