बारा — बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आमा–छोराको निर्मम हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब २ बजेअघि ५२ वर्षीया सुमित्रा देवी मण्डल र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको घटनामा धर्मेन्द्र महतो नाम गरेका एक पुरुषलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
एसपी कुँवरका अनुसार घटनामा उनको संलग्नता देखिएकाले पक्राउ गरिएको हो भने यसबारे थप अनुसन्धान भइरहेको छ।
यसअघि प्रहरीले सुमित्रा देवीकी बुहारी तथा रामेश्वरकी श्रीमती २८ वर्षीया मनिता देवीलाई पनि पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार गएराति एक व्यक्ति घरभित्र प्रवेश गरी अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेका थिए। घटना हुँदा सुमित्राको घरमा जम्मा आठ जना परिवारका सदस्य रहेका थिए।
घटनाको समयमा सुमित्रासँगै उनका श्रीमान् जगरूक मण्डल, छोरी किरणदेवी, बुहारी मनितादेवी, उनका दुई छोरा, छोरी रिनाकुमारी तथा नाति घरमै रहेको प्रहरीले जनाएको छ।
घटनामा जगरूक मण्डल, मनितादेवी र किरणदेवी घाइते भएका छन्। तीमध्ये जगरूक मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मनिता देवी राति शौचालय जान निस्कँदा सुमित्रा देवी पनि सँगै बाहिर निस्किएकी थिइन्। सुमित्राको शव घरबाहिर शौचालय नजिकै फेला परेको थियो भने रामेश्वरको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मनिता देवी सामान्य घाइते अवस्थामा रहेकी छन् भने घटनासँग सम्बन्धित अन्य पक्षमा पनि अनुसन्धान जारी रहेको छ।