वीरगञ्ज । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) आबद्ध युवाहरूले नेपाली काँग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यसहित संगठित रूपमा चुनावी अभियानलाई तीव्र बनाएका छन्।
लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन तथा समावेशी विकासको एजेन्डालाई केन्द्रमा राख्दै युवाहरू घरदैलो, जनसंवाद र संगठन विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने तयारीमा जुटेका हुन्।
नेविसंघका युवा नेता विकास मण्डलको अध्यक्षतामा सम्पन्न बैठकले पर्सा–१ अन्तर्गतका सबै वडामा चरणबद्ध घरदैलो कार्यक्रम सञ्चालन गर्ने, युवामुखी अन्तरक्रिया गर्ने, डिजिटल क्याम्पेन विस्तार गर्ने तथा संगठन सुदृढीकरण गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी युवाहरूले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सक्षम, शिक्षित र दूरदर्शी नेतृत्वको आवश्यकता औँल्याउँदै उम्मेदवार रुङटा उक्त जिम्मेवारी वहन गर्न सक्षम रहेको निष्कर्ष निकालेका छन्। उनीहरूले जेन–जी पुस्ता राजनीति प्रति सचेत, प्रविधिमैत्री र परिवर्तनमुखी रहेको उल्लेख गर्दै अबको राजनीति रोजगारी, उद्यमशीलता, शिक्षा र डिजिटल अवसरसँग जोडिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा उम्मेदवार अनिल रुङटाले युवाहरूको उत्साह र सक्रियताले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले जेन–जी युवालाई आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै युवा केवल मतदाता मात्र नभई नीति निर्माणका साझेदारसमेत भएको धारणा राखे। युवाको ऊर्जा, सृजनशीलता र प्रविधिमा पहुँचले पर्सा क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ थियो।
रुङटाले पर्सा–१ को विकासका लागि रोजगारी सिर्जना, सीपमूलक शिक्षा, स्टार्टअप तथा उद्यमशीलताको प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा र डिजिटल पूर्वाधार विस्तारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारे। उनले युवाको विदेश पलायन रोक्न स्थानीय स्तरमै अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। 
कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पार्टी संगठन मजबुत बनाउन नेविसंघको भूमिका ऐतिहासिक र प्रभावकारी रहेको बताए। उनले युवाहरूलाई अनुशासित, मर्यादित र सकारात्मक ढङ्गले चुनावी अभियानमा सक्रिय हुन आग्रह गरे।
बैठकमा नेविसंघका जिल्ला, क्षेत्र तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी युवाहरूले आगामी दिनमा एकजुट भएर उम्मेदवार रुङटाको पक्षमा जनमत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।