पर्सा। प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। सबै खेलहरू १५–१५ ओभरमा आधारित थिए।
मनकामना माविको फराकिलो जित
छैठौं दिनको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले बीरगन्ज पब्लिक स्कूललाई ९८ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको मनकामनाले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १४६ रन बनायो।
जवाफी ब्याटिङमा उत्रिएको बीरगन्ज पब्लिक स्कूल मनकामनाको कडा बलिङ अगाडि टिक्न सकेन र ७ विकेट गुमाउँदै ४८ रनमै समेटियो। मनकामनाका अबुबक्कर समानी उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।
ओम नेशनलको संघर्षपूर्ण जित
दोस्रो खेलमा ओम नेशनल स्कुलले जीवन ज्योति माध्यमिक विद्यालयलाई १५ रनले हराएको छ। टस जितेर ब्याटिङ रोजेको ओम नेशनलले सबै विकेट गुमाउँदै १०० रनको योगफल तयार गर्यो।
१०१ रनको लक्ष्य पछ्याएको जीवन ज्योति टोलीले निर्धारित ओभर पूरा खेले पनि ८५ रन मात्र बनाउन सक्यो। ओम नेशनलका अरविन्द कुमार साह म्यान अफ द म्याच बने।
एमईएसको प्रभावशाली प्रदर्शन
छैठौं दिनको अन्तिम खेलमा एमईएसले फुर्कान एकेडेमीलाई ५० रनले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको एमईएसले १५ ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनायो।
जवाफमा फुर्कान एकेडेमी ९ विकेटको क्षतिमा ५५ रनमै सीमित भयो। एमईएसका एजाज खान उत्कृष्ट खेल प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा सहभागी विद्यालयहरूबीच प्रतिस्पर्धा दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको आयोजकले जनाएको छ। प्रतियोगिताका आगामी खेलहरूमा थप उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।