वीरगञ्ज । समाजका असहाय र विपन्न वर्गप्रति निरन्तर सहानुभूति र सेवा गर्दै आएको सामाजिक संस्था उपकार सेवा नेपालले पर्साको ठोरीस्थित वृद्धाश्रमलाई खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको छ।
ठोरी गाउँपालिका वडा नं.१ भगवाननगरमा रहेको उक्त वृद्धाश्रममा आश्रित १७ जना बुवाआमा तथा बालबालिकाको दैनिकी सहज बनाउने उद्देश्यले संस्थाले मासिक खाद्यान्न प्रबन्ध गरेको हो। सहयोगअन्तर्गत ९० किलो चामल, १० किलो सोयाबिन, १० किलो चिउरा, १० लिटर खानेतेल, ५ किलो मसुरो दाल र ५ किलो नुन उपलब्ध गराइएको उपकार सेवा नेपालले जनाएको छ।
खाद्यान्नसँगै सरसफाइका सामग्री साबुन, जाडो मौसमलाई लक्षित गरी ट्राउजर र टिसर्ट, साथै फलफूल र मिठाईसमेत प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए। सहयोग सामग्री एक विशेष कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता थारुले संयुक्त रूपमा आश्रमका प्रतिनिधि रामबहादुर थिङलाई हस्तान्तरण गरेका थिए।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै संस्थाले आश्रमलाई हरेक महिना आवश्यक सामग्री सहयोग गर्दै आएको बताइन्। “हाम्रो सानो प्रयासले आश्रममा आश्रित बुवाआमा र बालबालिकाको दैनिकीमा केही सहजता थपियोस् भन्ने चाहना हो,” उनले भनिन्।
आश्रमका प्रतिनिधि रामबहादुर थिङले उपकार सेवा नेपालको नियमित सहयोगले आश्रम सञ्चालनमा ठूलो राहत पुगेको भन्दै संस्थाप्रति आभार व्यक्त गरे। उनका अनुसार मासिक रूपमा प्राप्त हुने यस्ता सहयोगले खाद्यान्न अभावको चिन्ता कम भएको छ।
उपकार सेवा नेपालले लामो समयदेखि पर्सा जिल्लाका विभिन्न स्थानमा वृद्ध, असहाय, विपन्न तथा संकटमा परेका समुदायलाई लक्षित गर्दै मानवीय तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको निरन्तर सेवाभावले स्थानीयस्तरमा मानवता र सहकार्यको सकारात्मक सन्देश फैलाइरहेको स्थानीयवासीले बताएका छन्।