१८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था निकै चुस्त र प्रभावकारी बनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मधेसका आठै जिल्लामा तीन तहको सुरक्षा घेरा तयार पारिएको छ । प्रदेशभर रहेका २ हजार १६० मतदानस्थलमध्ये ५७ प्रतिशत अर्थात् १ हजार २३७ स्थललाई अति संवेदनशील सूचीमा राखेर विशेष निगरानी थालिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार अति संवेदनशील क्षेत्रहरूमा सुरक्षाका लागि ड्रोन र सीसी क्यामेरा जस्ता आधुनिक प्रविधिको समेत प्रयोग गरिनेछ ।
सुरक्षा चुनौतीका आधारमा गरिएको वर्गीकरणमा सप्तरी जिल्ला सबैभन्दा बढी जोखिमपूर्ण अर्थात् रेड जोनमा देखिएको छ, जहाँका २०९ मतदानस्थल अति संवेदनशील मानिएका छन् । निर्वाचन सुरक्षाका लागि मधेस प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित करिब ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।
जसमा १२ हजार ६०० नेपाल प्रहरी, २८ हजार २९५ म्यादी प्रहरी र सशस्त्र प्रहरीका करिब ७ हजार जनशक्ति चुनावी मैदानमा खटिनेछन् । खुला सीमाना र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा विशेष सतर्कता अपनाएको छ ।
निर्वाचनलाई लक्षित गरी सीमापारिबाट हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न भारतीय सुरक्षा निकायसँग समेत समन्वय भइरहेको छ । महोत्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारीहरूका अनुसार बिहारका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूसँग विभिन्न चरणमा सुरक्षा बैठकहरू सम्पन्न भइसकेका छन् ।
मतदाताको सहज पहुँच र शान्ति सुरक्षा सुनिश्चित गर्न मोबाइल टोली, स्ट्राइकिङ फोर्स र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको छ । सुरक्षा निकायको यो व्यापक तयारीले मधेसमा निर्वाचनको माहोललाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ ।