वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने योजनामा रहेको अन्तरदेशीय गिरोह भारतमा पक्राउ परेको छ।
भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्ला प्रहरी र विशेष कार्यदल ९एसटिएफ० को संयुक्त कारबाहीमा सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा सञ्चालनमा रहेको अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारी ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ।
छापामारीका क्रममा प्रहरीले २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १ हजार ८ सय ५० रुपैयाँ बराबरका नक्कली भारतीय नोट, नक्कली नोट छाप्न प्रयोग हुने हाइटेक प्रिन्टिङ मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरेको छ।
यस घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ गरिएको छ, जसमा ३ जना नेपाली नागरिकसमेत रहेका छन्। पक्राउ परेकामाथि सोधपुछ जारी रहेको र थप संलग्न व्यक्तिहरूको पहिचान खुल्दै गएको भारतीय सुरक्षा स्रोतले जनाएको छ। हालसम्म उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
त्यस्तै, नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीन वटा मोटरसाइकल र एउटा कार समेत बरामद गरिएको प्रहरीले दाबी गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती नाकाहरू प्रयोग गरी नक्कली नोट नेपाल भित्र्याउने योजना बनाएको खुलेको छ।
विशेषगरी निर्वाचनको समयमा बजारमा नक्कली नोट फैलाएर आर्थिक अव्यवस्था सिर्जना गर्ने र राजनीतिक गतिविधिमा असर पार्ने उद्देश्य रहेको प्रहरीको आशङ्का छ।
भारतीय प्रहरीले नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामाथिको गम्भीर खतरा ठहर गर्दै घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। गिरोहका मुख्य योजनाकार र नेपाल–भारत दुवै पक्षमा सक्रिय अन्य सदस्यको खोजी तीव्र पारिएको छ।
घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा बनाइएको छ। दुवै देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान र समन्वय बढाइएको छ भने नेपाली सुरक्षा निकाय पनि नक्कली नोट नियन्त्रण तथा सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानीमा लागेको स्रोतले जनाएको छ।