अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्नुभएको छ । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोनमार्फत भएको छलफलबाट व्यापार सम्झौतामा सहमति भएको जानकारी दिनुभएको छ ।
अब अमेरिकाले भारतबाट आउने सामानमा भन्सार शुल्क २५ बाट घटाएर १८ प्रतिशत बनाउने बीबीसीले जनाएको छ । ट्रुथ सोसलमा रहेको एक पोस्टमा ट्रम्पले भारतले व्यापार अवरोधलाई शून्यमा झार्ने र रूसी तेल किन्न पनि बन्द गर्ने बताउनुभएको छ ।
रूसबाट तेल किन्न बन्द गर्न भारतले अस्वीकार गरेकोमा लगाइएको थप २५ प्रतिशत ट्यारिफ जरिवाना पनि अमेरिकाले खारेज गर्ने भएको छ । भारत र युरोपेली सङ्घले झन्डै दुई दशकदेखि चलिरहेको वार्तालाई समाप्त गर्ने ऐतिहासिक व्यापार सम्झौताको घोषणा लगत्तै यो घोषणा आएको हो ।
पोस्टमा ट्रम्पले मोदीसँग फोन वार्तामा व्यापार र रुस–युक्रेन युद्धको बारेमा छलफल भएको बताउनुभएको छ । व्यापार सम्झौतामा सहमति भएसँगै अमेरिकाले कर घटाउनेछ भने भारतको कर र गैर–कर अवरोधहरू शून्यमा झार्ने उहाँले उल्लेख गर्नुभएको छ ।
यसका साथै, ट्रम्पले मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनहरूसहित ५ सय अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी सामानहरू किन्न प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ । गएको अगस्टमा अमेरिकाले भारतबाट आउने सामानहरूमा ५० प्रतिशत कर लगाएपछि अमेरिका र भारतबीचको व्यापार सम्बन्ध तनावपूर्ण बनेको थियो ।
जुन एशियाली देशको लागि उच्चतम हो । यसमा भारतले रूसी तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि समावेश थियो । ट्रम्पको कर लागू भएपछि अमेरिकामा भारतीय निर्यातमा तीव्र गिरावट आएको छ ।