वीरगञ्ज — नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) को २२औँ वार्षिक उत्सव समारोह निर्देशनालय श्रीपुर, वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले विभिन्न स्थानमा देखिएको फोरजी सेवाको समस्यालाई चाँडो समाधान गर्दै ग्राहकको विश्वास बढाउनुपर्नेमा जोड दिएका छन्। निजी टेलिकम कम्पनीहरूले फोरजी सेवासहित निःशुल्क हटस्पोटजस्ता सुविधा दिइरहेका बेला नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तर समयमै सुधार गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाल टेलिकमभित्र देखिएका आर्थिक अनियमितताप्रति गम्भीर ध्यान दिनुपर्ने, अनियमिततामा संलग्नलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग समेत उठाइएको छ। नेपाल विद्युत प्राधिकरणमा इमान्दार नेतृत्वका कारण सुधार आएको उदाहरण दिँदै नेपाल टेलिकममा पनि त्यस्तै सुधारमुखी र इमान्दार कर्मचारीको आवश्यकता रहेको वक्ताहरूले बताएका थिए।
सञ्चालक र व्यवस्थापकका आसेपासेलाई मात्र बढुवा गर्ने प्रवृत्तिका कारण अन्य कर्मचारीको मनोबल खस्किएको भन्दै निष्पक्ष बढुवा प्रणाली लागू गर्न सुझाव दिइएको छ। समयमा सुधार नआए नेपाल टेलिकम घाटामा जान सक्ने चेतावनी पनि दिइएको थियो। साथै फोरजी सेवा चाँडोभन्दा चाँडो पूर्ण रूपमा सुचारु गर्नुपर्नेमा सबै वक्ताहरू एकमत देखिएका थिए।
वार्षिक उत्सव समारोहमा नेपाल टेलिकमका प्रबन्धक आनन्द लामिछाने, उपप्रबन्धकहरू मनिषकुमार गुप्ता, अमितराज सत्याल, सुशील सजेल, एनटिसी डब्लुयु प्रादेशिक समितिका अध्यक्ष सुजितकुमार कुशवाहा, बलतका अध्यक्ष प्रदीप राज पाण्डे, लभयलत प्रादेशिक समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मी लगायतले आ–आफ्नो धारणा तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य सुशील अधिकारीले राख्नुभएको थियो।