काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता तथा मिडिया सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ। साथै, आचारसंहिताको अनुगमन प्रक्रिया पनि अझ सुदृढ बनाइने काउन्सिलले जनाएको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–सल्यानटारमा सम्पन्न काउन्सिलको १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जनचेतनालाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकतामा राखेर कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले जानकारी दिए।
बैठकले पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने, साथै पत्रपत्रिका वितरण सम्परीक्षणका मापदण्ड पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ र समयसापेक्ष बनाउने निर्णय गरेको छ।
त्यसैगरी, काउन्सिलद्वारा प्रदान गरिँदै आएका विभिन्न पुरस्कारलाई थप पारदर्शी र प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार तथा परिमार्जन गरिनेछ। पत्रपत्रिकासहित सम्पूर्ण सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने क्रममा देखिएका समस्या र चुनौती समाधान गर्न अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गराउन सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।
यसैबीच, बैठकले धादिङ जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू—त्रिपुरासुन्दरी माई भगवती मन्दिर, फटिक खम्बा, नरसिंहधाम, साथै नीलकण्ठ नगरपालिकास्थित भैरवी माई मन्दिरलगायत स्थानको संरक्षण, प्रवर्द्धन र व्यवस्थित विकासका लागि प्राथमिकताका साथ प्रचारप्रसार गर्न स्थानीय सञ्चारमाध्यमहरूसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।