पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ को भन्सार टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले महिलाको सम्मान बिना समाज समृद्ध हुन नसक्ने बताउँदै महिला सशक्तीकरणका लागि आफूले ठोस रोडम्याप तयार गरेको स्पष्ट पारे। उनले महिला साक्षरता, सीप विकास, उद्यमशीलता तथा आयआर्जनसँग महिलालाई जोडेर आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्जको समग्र विकास, स्थानीय सरोकारका मुद्दा तथा मधेसको अधिकार र पहिचानको सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै सरार्फले संसद तथा सम्बन्धित निकायमा वीरगञ्ज र वीरगञ्जवासीको शिर ठाडो हुने गरी भूमिका निर्वाह गर्ने बताए।
देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा। सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा ‘हर्न’ छापमा मतदान गर्न सबै मतदातासँग अपिल गरे।
कार्यक्रममा स्थानीयवासीको स्वस्फूर्त सहभागितासहित उम्मेदवार सरार्फलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो। सो अवसरमा पूर्व एसएसपी अनुराग द्विवेदी, अनिता रौनियार, समानुपातिक उम्मेदवार विजय पासवान र बबिता पुडासैनी, नेताहरू नजमा खातुन, भुपेन्द्र साह, डा। मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहालगायतको उपस्थिति रहेको थियो।