दिपेन्द्र जयसवाल
अनुशासनको अभाव भएमा जीवनमा केही पनि हासिल गर्न नसकिने कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले बताएका छन्। बाराको कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको सभाहलमा जिनियस युथ नेपालको आयोजनामा सम्पन्न ‘फस्ट टाइम इन कलैया क्यारियर काउन्सेलिङ सेमिनार’ लाई सम्बोधन गर्दै उनले अनुशासन असफल भए जीवन पनि असफल हुने सम्भावना रहने बताए। त्यसैले विद्यार्थीहरूले अनुशासनलाई जीवनको मूल आधार बनाउनुपर्ने उनको भनाइ थियो।
शाखा प्रमुख यादवले विद्यार्थीहरूलाई गुरुजनलाई मर्यादित ढंगले सम्मान गर्न आग्रह गर्दै शिक्षक र विद्यार्थीबीच ‘प्रहरी मेरो साथी’ जस्तै समन्वय हुनुपर्ने सुझाव दिए। पढाइ केवल जागिरका लागि मात्र नभई जीवनका हरेक पक्षमा आवश्यक पर्ने उल्लेख गर्दै उनले पढाइको अभावमा समाजमा सम्मानसमेत नपाइने बताए। साथै, विद्यार्थीहरूलाई अध्ययनमा विशेष ध्यान दिन आग्रह गरे।
कार्यक्रममा ए प्लस अस्पतालका सञ्चालक डाक्टर विकेश कुमार पाण्डेयले लागू पदार्थ दुव्र्यसन विरुद्ध प्रेरणादायी सन्देशसहित प्रशिक्षण दिएका थिए। त्यस्तै, मानवसेवा आश्रम वीरगंजका सञ्चालक तथा मोटिभेशनल स्पिकर दिवेश गुप्ताले व्यक्तित्व विकास, रुचि तथा क्षमता पहिचान, सीप विकास, लक्ष्य निर्धारण र भविष्यको क्यारियर योजना विषयमा प्रशिक्षण दिएका थिए।
जिनियस युथ नेपालका अध्यक्ष अन्कुश ब्याहुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिका–१ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्री, स्वास्थ्य शाखाका फोकल पर्सन मनोज यादव, सहायक लेखापाल प्रभु गुप्ता, श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहा, संजय केशरी, पवन सरार्फ, विभिन्न क्याम्पसका कक्षा ११ र १२ का विद्यार्थीहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।