आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सूचनामा निर्वाचन आयोगको निर्देशन तथा विद्यमान कानुनी प्रावधानअनुसार जिल्लाभित्र आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन अवधिमा राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, कर्मचारी तथा अन्य सरोकारवालाले निर्वाचन आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। आचारसंहिता विपरीत गतिविधि भएको पाइएमा कानुनी प्रक्रिया अनुसार कारबाही गरिने समेत सूचनामा जनाइएको छ। सूचनाअनुसार पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमनका लागि दुई जना अधिकृत तोकिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मनोज कुमार जोशीलाई अनुगमन जिम्मेवारी दिइएको छ। तोकिएका अधिकृतहरूले जिल्लाभित्र निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था अनुगमन गर्ने, उल्लङ्घनका घटना भए सम्बन्धित निकायलाई जानकारी गराउने तथा आवश्यक परे निर्वाचन आयोगलाई प्रतिवेदन पेश गर्ने जिम्मेवारी रहने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी तथा जानकारी सम्बन्धित अधिकृतमार्फत उपलब्ध गराउन समेत आग्रह गरेको छ। निर्वाचन अवधिमा प्रचारप्रसार, सरकारी स्रोत साधनको प्रयोग, मतदातालाई प्रभाव पार्ने गतिविधि लगायत विषयमा विशेष निगरानी गरिने बताइएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा आम नागरिकलाई आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।
प्रशासनका अनुसार निर्वाचन नजिकिँदै जाँदा अनुगमन कार्यलाई थप सक्रिय बनाइने तथा आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने तयारी गरिएको छ। निर्वाचन प्रक्रियालाई विश्वासयोग्य बनाउन यस्तो निगरानी संयन्त्र महत्वपूर्ण हुने प्रशासनको विश्वास रहेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन सम्बन्धी सूचना तथा जानकारीका लागि कार्यालयको आधिकारिक सम्पर्क माध्यम प्रयोग गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।