वीरगञ्ज । नेपाल सरकार तथा स्वीट सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी प्रहरीसँग एकदिने अन्तरक्रिया कार्यक्रम आज वीरगञ्जस्थित गेटवे होटलमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा पीडित पक्षको हकहितमा जहिले पनि उभिनु राज्य र प्रहरीको दायित्व भएको बताए। उनले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीमार्फत पठाउने कार्य कानुनी मान्यता प्राप्त भए पनि कानुनले नमान्ने दलाल तथा एजेन्टहरूको सक्रियताका कारण समस्या बढ्दै गएको उल्लेख गरे।
सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेलले विभिन्न प्रलोभन देखाएर राम्रो कामको आश्वासन दिने र विदेश पुर्याएपछि अर्कै काममा लगाउने जस्ता घटनाहरू बढिरहेको भन्दै त्यस्ता दलाल र एजेन्टलाई कानुनी दायरामा ल्याउन सबै प्रहरी मातहतलाई निर्देशन दिइएको जानकारी दिए। पीडितसँग स्पष्ट प्रमाण नभए पनि सम्भव भएसम्म सम्झाइबुझाइ गरी दोषीलाई उपस्थित गराउने र नमानेमा कानुनअनुसार कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए।
नेपालमा पर्याप्त रोजगारी नहुँदा धेरै नेपाली वैदेशिक रोजगारीमा जाने क्रममा ठगिने गरेको उल्लेख गर्दै उनले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमको कार्यालय स्थापना गरिएको जानकारी गराए। पासपोर्ट बनाइसकेपछि एकपटक अनिवार्य रूपमा त्यहाँ पुगेर परामर्श लिन सबैलाई निर्देशन दिइँदै आएको उनले बताए।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका संयोजक रामाशंकर कुशवाले प्रतिवेदन प्रस्तुत गर्दै हाल ३ लाख २५ हजार १७९ जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक गरे। यो तथ्याङ्क नेपालका लागि चिन्ताजनक रहेको भन्दै उनले वैदेशिक रोजगारीका क्रममा ३३५ जना अंगभंग भएको जानकारी पनि दिए। वैदेशिक रोजगारीमा जानुअघि कम्तीमा केही सीपमूलक तालिम लिएर गए ठगीबाट केही हदसम्म जोगिन सकिने धारणा उनले राखे।
कार्यक्रमको स्वागत मन्तव्य वीरगञ्ज महानगरपालिकाका रोजगार संयोजक सुरज कुर्मीले गर्नुभएको थियो भने सहजीकरण महानगरपालिकाका मनोसामाजिक परामर्शकर्ता कञ्चन श्रीवास्तवले गर्नुभएको थियो। कार्यक्रममा आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता र विभिन्न प्रहरी चौकीका प्रहरीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।