पर्सा–१ मा आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नगवा क्षेत्रमा सञ्चालन गरेको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको छ। परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेका मतदातामाझ रास्वपाको उपस्थितिले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइदिएको छ।
घरदैलो कार्यक्रममा रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय स्तरमा गहिरिँदै गएको निराशा, विकासप्रतिको अपेक्षा र सुशासनको चाहनालाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका थिए। उनले नगवाका गल्ली–गल्लीमा पुगेर मतदाताको गुनासो सुन्दा सडक, ढल, खानेपानी, रोजगारी र युवाको भविष्यजस्ता मुद्दा अझै पनि प्राथमिक समस्या बनेर रहेको स्पष्ट देखिएको थियो।
कार्यक्रमका क्रममा पन्तले रास्वपाको जितलाई केवल दलगत विजय नभई समग्र राजनीतिक संस्कृतिको परिवर्तनका रूपमा व्याख्या गरे। “रास्वपाको जित भनेको मुलुकमा जवाफदेही राजनीति स्थापना गर्नु हो,” उनले भने, “नगवामा देखिएको उत्साहले यसपटक मतदाताले पुरानो अभ्यासलाई अस्वीकार गर्दै नयाँ विकल्प रोज्ने संकेत गरेको छ।” उनका अनुसार घरदैलो अभियानमा देखिएको अभूतपूर्व सहभागिता केवल चुनावी समर्थन मात्र नभई परिवर्तनप्रतिको जनआकांक्षाको प्रतिबिम्ब हो।
नगवाका स्थानीय बासिन्दासँगको संवादमा देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको ‘अनुहार होइन, प्रणाली बदलिनुपर्छ’ भन्ने सोचको बलियो उपस्थिति हो। पटक–पटक चुनाव जितेर पनि समस्या समाधान हुन नसकेको गुनासो गर्दै स्थानीयले यसपटक व्यवहार र जवाफदेहितालाई प्राथमिकतामा राख्ने नेतृत्व खोजिरहेको प्रतिक्रिया दिएका थिए। यसले रास्वपाको ‘नयाँ राजनीति’को सन्देश नगवामा केही हदसम्म स्थापित हुँदै गएको संकेत गर्छ।
घरदैलो कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दीप कुश्वाह, विशाल सिंह र माइकल सापकोटा लगायतका नेताहरूको सहभागिताले संगठनात्मक सक्रियता पनि प्रस्ट देखिएको थियो। विश्लेषकहरूका अनुसार यस्तो टोलीगत उपस्थितिले पार्टी एक्ला उम्मेदवारमा सीमित नभई संस्थागत रूपमा मैदानमा उत्रिएको सन्देश दिन्छ।