क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ।
गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। घटनापछि स्कुल बन्द गरिएको छ।
स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ।’
उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेका छन्।
क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी पढ्छन्।
रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) को उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको बताए। प्रहरीका अनुसार, स्कुलमा गोली प्रहार भएको खबर स्थानीय समय मध्यराति १:२० बजे प्राप्त भएको थियो।
जानकारी पाएपछि स्कुलमा घटनास्थल प्रवेश गर्दा धेरै मानिस घाइते र मृत अवस्थामा फेला परेका हुन्। आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले स्कुलमा रहेका बाँकी सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ। उक्त क्षेत्रमा सुरक्षा बढाइएको छ र अनुसन्धान जारी छ।