वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता प्रदान गरिएको छ। ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले महानगरपालिकासँग सहकार्य गर्दै १६ जना बालबालिकालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरेको हो।
एक विशेष कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सहयोग रकम हस्तान्तरण गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए। “आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “महानगरले समावेशी शिक्षा प्रवर्द्धनका लागि विभिन्न सहयोगात्मक कार्यक्रम अघि बढाउँदै आएको छ।”
उनले सरकारी निकाय र गैरसरकारी संस्थाबीचको सहकार्यले लक्षित समुदायसम्म प्रभावकारी ढंगले सेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको जानकारी दिइन्। उनका अनुसार रातो र निलो परिचयपत्रधारीले सरकारबाट मासिक भत्ता पाउने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारी बालबालिका आर्थिक सहयोगबाट वञ्चित हुँदै आएका छन्। “त्यसैले विद्यालयमा अध्ययनरत यस्ता बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यक खर्च व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको हो,” उनले स्पष्ट पारिन्।
सहयोग प्राप्त गर्ने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्। अभिभावकहरूले यस किसिमको सहयोगले बालबालिकाको पढाइलाई निरन्तरता दिन सहज हुने र थप हौसला मिल्ने बताएका छन्।
महानगर र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।