३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति गठनको लागि तयार भएको कांग्रेस नेताहरूले बताएका छन् ।
संसदीय छानबिन समिति गठन अघि संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग प्रस्ताव गरेका छन् । ‘गृहमन्त्रीजीलाई बोल्न दिनुस् संसदीय छानबिन समिति गठन गर्न तयार छौं भन्ने सन्देश प्रधानमन्त्रीले पठाउनु भएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने ।
संसद्को रोस्ट्रमबाट स्पष्टीकरण दिएर संसदीय छानबिनका लागि तयार भएको सन्देश गृहमन्त्री लामिछानेले प्रचण्डलाई दिएका छन् । नेकपा (एमाले)ले पनि बिहीबारको बैठकमा गृहमन्त्रीले बोल्न पाउनु पर्ने बताउँदै आएको थियो ।
‘संसद्को सबभन्दा ठूलो दलको हैसियतमा रहेको प्रतिपक्षलाई पेलेर जान सक्ने स्थिति भएन, संसदीय समिति गठनमा सत्तापक्षबीच मोटामोटी सहमति भएको छ,’ माओवादीका एक नेताले भने, ‘समिति गठन गर्ने औपचारिक निर्णय भने भइसकेको छैन ।’
यसअघि सत्तापक्षका नेताहरू संसदीय छानबिनका लागि तयार भएका थिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पनि कांग्रेसको कुण्ठाका आधारमा समिति बन्न नसक्ने बताएका थिए ।
कांग्रेस सचेतक सुशीला थिङले बिहीबार ४ बजेको बैठक सुचारु गर्नेगरी छलफल चलिरहेको बताइन् । कांग्रेसले गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आइरहेको छ । ५८ दिनपछि संसदीय समिति गठनमा सत्तापक्ष तयार भएको छ ।
सहमतिको प्रयास गर्न भन्दै बिहीवार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचनामार्फत ४ बजेसम्म सारिएको छ । १५ दिनको समय दिएर संसदीय छानबिन समिति गठनको गृहकार्य चलिरहेको छ ।