फाल्गुन १, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ र २१ मा घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा स्थानीय किसान तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानमाथि सधैं विभेद गर्दै आएको आरोप लगाए। उनले किसानको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न जनमत पार्टी सधैं प्रतिबद्ध रहेको बताए।
खेतीपातीलाई आधुनिकीकरण र व्यवसायीकरणमार्फत आम्दानीको दिगो स्रोतमा रूपान्तरण गर्ने स्पष्ट योजना आफ्नो पार्टीसँग मात्रै रहेको उनको जिकिर थियो। “किसान बलियो भए मात्रै देश बलियो हुन्छ,” उनले भने, “हामी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म राज्यको पूर्ण सहयोग उपलब्ध गराउने नीति ल्याउँछौं।”
सरार्फले देश र मधेसको समग्र निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र सीके राउत सँग मात्र रहेको दाबी गर्दै आगामी निर्वाचनमा ‘हरन’ छापमा मतदान गर्न मतदातासँग अपिल गरे।
कार्यक्रममा रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, श्याम शंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सिराम, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायत नेताकार्यकर्ताको सहभागिता रहेको थियो।
स्थानीय तहमा सम्पन्न उक्त घरदैलो कार्यक्रमले किसान मुद्दालाई केन्द्रमा राख्दै चुनावी अभियानलाई थप सक्रिय बनाएको जनमत पार्टीले जनाएको छ।