महेन्द्रनगर, २९ माघ। कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोमाथि पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। क्यासिनोका कर्मचारी तथा स्थानीय ऋणीहरूले आफूहरूले विश्वासका आधारमा दिएको रकम फिर्ता नपाएको भन्दै सञ्चालकविरुद्ध सार्वजनिक रूपमा आरोप लगाएका हुन्।
बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले क्यासिनोले नियमित कारोबार सञ्चालनका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट सापटी लिने र समयमै फिर्ता गर्ने अभ्यास रहे पनि पछिल्लो समय रकम नफर्काइएको बताएका छन्।
क्यासिनोका सञ्चालक व्यवसायी नरेन्द्र साह हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बनेका छन्। चुनावी अभियान चलिरहेका बेला उनीमाथि कञ्चनपुरमा ऋणीहरूको रकम फिर्ता नगरेको तथा कर्मचारीलाई तलब नदिएको आरोप सार्वजनिक भएको हो।
कर्मचारी र सेवाग्राहीको गुनासो
क्यासिनोमा लामो समय काम गरेका राजेन्द्र कुमारले आफूले दिएको १० लाख रुपैयाँ फिर्ता नपाएको बताए। उनका अनुसार तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठ (हिमाल) मार्फत आर्थिक समस्या परेको भन्दै क्यासिनोलाई उक्त रकम ऋण दिएका थिए। “व्यक्तिगत विश्वासका आधारमा सहयोग गरेको हुँ, तर अहिले पैसा माग्दा सञ्चालकले अटेर गरिरहेका छन्,” उनले भने।
त्यस्तै क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्ट (पुजारी बाजे) ले ३४ लाख रुपैयाँ फिर्ता नपाएको दाबी गरेका छन्। “क्यासिनोले बेला–बेला सापटी लिएर समयमै फिर्ता गर्ने गथ्र्यो। त्यही विश्वासका आधारमा तीन पटकमा ३४ लाख दिएको हुँ,” उनले बताए।
डान्स म्यानेजरका रूपमा कार्यरत नवराज श्रेष्ठले ४० लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन्। उनले आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको बताए। “पैसा माग्दा जागिर छोडेर जान धम्की दिने गरिएको छ,” उनले आरोप लगाए। ठूलो रकम डुबेकाले आफूले जागिरसमेत छोड्न नसकेको उनको दुखेसो छ।
पूर्व म्यानेजरको दाबी
तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार सञ्चालक साहले २०८१ भदौयता नियमित हिसाब नबुझेपछि समस्या चुलिएको हो। “क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यवसायी तथा विश्वासिला सेवाग्राहीबाट सापटी लिएर कारोबार चलाउने गरेका थियौँ। पछिल्ला १७ महिनामा सञ्चालकले मासिक हिसाब लिनुभएन। उहाँकै निर्देशनमा उठाइएको रकम पठाइएको हो,” उनले दाबी गरे।
श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरूको ठूलो रकम क्यासिनोले तिर्न बाँकी छ। शान्ती पाण्डेयको ३९ लाख, लिल गुरुङको ३४ लाख, मानवती पालको २० लाख, गणेश टेरको २० लाख, कविता जोशीको १८ लाख, राम पन्तको १५ लाखलगायत २० जनाको गरी कुल पाँच करोड २९ लाख रुपैयाँ बाँकी रहेको उनले बताए।
त्यस्तै भारतीय नागरिक सञ्जीव गान्धीको २९ लाख र सदाबको २० लाख रुपैयाँसमेत तिर्न बाँकी रहेको दाबी गरिएको छ। केही रकम भने आंशिक रूपमा फिर्ता गरिएको श्रेष्ठको भनाइ छ।
व्यवस्थापनको प्रतिवाद
यस विषयमा सञ्चालक साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। हाल क्यासिनोको व्यवस्थापकीय टिममा कार्यरत एक कर्मचारीले साह चुनावी अभियानमा व्यस्त रहेको बताए। साथै, पूर्व म्यानेजर श्रेष्ठले नै क्यासिनोका नाममा रकम उठाएर हिनामिना गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
क्यासिनो व्यवस्थापनले श्रेष्ठले क्यासिनोको नाममा करोडौँ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै आएको छ।
नरेन्द्र साह २०७९ को निर्वाचनमा सर्लाही–३ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बनेका थिए। यस पटक भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धामा छन्।
सर्लाही–३ मा नारायणकाजी श्रेष्ठ (नेकपा), हरिप्रसाद उप्रेती (नेकपा एमाले), विनोदकुमार खनाल (नेपाली कांग्रेस) लगायत ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्।