वीरगञ्ज। एभरेष्ट पब्लिक स्कुलका विद्यार्थीहरूले विभिन्न परिकारसहित फुड फेस्टिवल प्रदर्शन गरेका छन्। विद्यालयका प्रिन्सिपल नितु चौरसियाको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुनुपर्नेमा जोड दिए। उनले विद्यालय स्तरबाटै यस्ता सिपमूलक गतिविधि सञ्चालन हुनु सकारात्मक भएको बताउँदै यसले विद्यार्थीको आत्मविश्वास बढाउने र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
“अब विद्यार्थीहरूले सरकारी जागिर नै खानुपर्छ भन्ने सोच बदलिनुपर्छ। अन्य व्यवसाय गरेर पनि जीवन चलाउन सकिन्छ भन्ने पाठ विद्यालय तहबाटै सिकाइनुपर्छ,” उनले भने। व्यवहारिक शिक्षाको ज्ञान आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यस्ता फुड फेस्टिवलले विद्यार्थीलाई उद्यमशीलताप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे।
विद्यालयका सञ्चालक डा। उमेश चौरसियाले ‘पढ्दै जाऔँ, कमाउँदै जाऔँ’ अवधारणासहित विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा आत्मनिर्भर बन्ने सोचको विकास गराउँछ।
त्यस्तै विद्यालयका अर्का सञ्चालक तथा निर्देशक उमेश साहले पनि व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विद्यालय तहबाटै उद्यमशील सोच विकास गर्ने लक्ष्य रहेको बताए। “आजको प्रतिस्पर्धात्मक समयमा किताबको ज्ञान मात्र पर्याप्त हुँदैन, व्यवहारिक सीप पनि उत्तिकै आवश्यक छ,” उनले भने।
फुड फेस्टिवलमा विद्यार्थीहरूले विभिन्न परिकार तयार गरी प्रदर्शन गरेका थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विद्यालयका शिक्षक–शिक्षिका तथा गायक चन्दन पण्डितलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै विद्यालयमा व्यवहारिक शिक्षाप्रतिको प्रतिबद्धता समेत प्रष्ट पारेको आयोजकको भनाइ छ।