प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागीमूलक बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले आज (आइतबार) देखि देशभर ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ सुरु गर्दैछ । ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम स्वीकृत यस कार्यक्रममार्फत आम नागरिकलाई मतदानको महत्त्व र सही प्रक्रियाबारे जानकारी दिइनेछ ।
आयोगका अनुसार यो अभियान आजदेखि आगामी फागुन १७ गतेसम्म देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन र मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न यो कदम चालिएको हो ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको छ । ती स्वयंसेवकहरूले मतदाताको बस्ती र घरदैलोमै पुगेर नमुना मतपत्र प्रदर्शन गर्ने, सही तरिकाले स्वस्तिक छाप लगाउने र मतपत्र पट्याउने विधि सिकाउने र निर्वाचनको महत्त्व र लोकतन्त्रमा एउटा मतको शक्तिबारे सचेतना फैलाउने कार्य गर्नेछन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस अभियानलाई सफल बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताउनुभएको छ । आयोगले सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चार जगत्लाई यस कार्यमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन अनुरोध गरेको छ ।
विगतका निर्वाचनहरूमा प्राविधिक ज्ञानको अभावमा धेरै मत बदर हुने गरेको तथ्यलाई ध्यानमा राख्दै आयोगले यस पटक प्रयोगात्मक शिक्षामा जोड दिएको छ । प्रभावकारी मतदाता शिक्षाले एकातिर जनसहभागिता बढाउँछ भने अर्कोतिर मत खेर जानबाट जोगाई निर्वाचनको साख उच्च राख्न मद्दत पुग्ने विश्वास लिइएको छ ।