पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनील रुङटाले वीरगञ्ज महानगरपालिका–३१ नवकाटोलामा घरदैलो कार्यक्रम गर्दै स्थानीय मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्। कार्यक्रमका क्रममा उनले स्थानीय नागरिकका अपेक्षा, सुझाव र समस्याहरूलाई नजिकबाट सुन्ने अवसर पाएको बताएका छन्। घरदैलोका क्रममा उम्मेदवार रुङटाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा खानेपानीका विषयमा उठेका गुनासो र सुझावहरू टिपोट गरेका थिए। उनले आफूलाई निर्वाचन केवल मत माग्ने प्रक्रिया मात्र नभई जनभावना बुझ्ने र त्यसलाई कार्ययोजनामा रूपान्तरण गर्ने जिम्मेवारी भएको बताए।
“मेरो लागि निर्वाचन मत माग्ने औपचारिकता होइन, जनताको पीडा, अपेक्षा र सुझावलाई बुझेर त्यसअनुसार काम गर्ने अवसर हो,” उनले भने, “यहाँका नागरिकले देखाउनुभएको विश्वास र समर्थनप्रति म आभारी छु। नेपाली कांग्रेस सँग यहाँका जनताको अपेक्षा र कांग्रेसको उम्मेदवारका रूपमा मप्रतिको भरोसाले मलाई थप जिम्मेवार बनाएको छ।”

स्थानीयवासीहरूले पनि उम्मेदवारसँग क्षेत्रको दीर्घकालीन विकास, युवालाई रोजगारीको अवसर, महिला सशक्तिकरण तथा किसानका समस्याबारे खुलेर आफ्ना धारणा राखेका थिए। उनीहरूले विगतमा भएका अधुरा योजनाहरू पूरा गर्न तथा नयाँ विकास परियोजनाहरू ल्याउन उम्मेदवारसँग आग्रह गरेका छन्। रुङटाले स्थानीय समस्यालाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै पर्सा क्षेत्र नम्बर–१ लाई समृद्ध र व्यवस्थित बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताए। उनले सडक, शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारीका क्षेत्रमा ठोस कार्यक्रम ल्याउने तथा वीरगञ्ज महानगरपालिकाका सबै वडामा समान रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला समूहका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। सहभागीहरूले उम्मेदवार रुङटालाई विजयको शुभकामना दिँदै क्षेत्रको विकासमा प्रतिबद्ध भएर काम गर्न आग्रह गरेका छन्। अहिले पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातेको अवस्थामा उम्मेदवारहरूको घरदैलो र जनसम्पर्क कार्यक्रम तीव्र भइरहेका छन्। यसै क्रममा अनील रुङटाको सक्रिय भेटघाट र संवाद कार्यक्रमले मतदातासँग नजिकिने प्रयास भएको स्थानीयहरूले बताएका छन्।