वीरगञ्ज/पर्सा — पर्साको जिराभवानी मन्दिरमा आयोजित महाशिवरात्रि मेलामा ठेकेदारले व्यापारी र सर्वसाधारणबाट मनोमानी ढंगले कर असुली गरिरहेको आरोप लागेको छ। गाउँपालिकाले तोकेको आधिकारिक दररेटलाई चुनौती दिँदै कतिपय शीर्षकमा ६ गुणासम्म बढी रकम उठाइएको पाइएको हो।
जिराभवानी गाउँपालिका र ठेकेदार प्रेम ख्वास थारुबीच भएको सम्झौता अनुसार मेलामा व्यापार गर्नेहरूका लागि जग्गा वितरण बापत प्रति वर्गफिट १० रुपैयाँ लिनुपर्ने प्रावधान रहेको छ। तर, व्यापारीहरूका अनुसार ठेकेदारले प्रति वर्गफिट ६० रुपैयाँसम्म असुली गरिरहेको खुलेको छ।
कालिकामाई गाउँपालिकाबाट बदाम बिक्री गर्न आएका व्यापारी सुरेन्द्र साहले ४० वर्गफिट सानो ठाउँका लागि २ हजार ४ सय रुपैयाँ बुझाउनु परेको गुनासो गरे। “पालिकाको दर अनुसार ४ सय रुपैयाँ तिर्नुपर्ने ठाउँमा २ हजार ४ सय लिए,” उनले भने, “त्यति मात्र होइन, दैनिक बिक्री गरेबापत छुट्टै ५० रुपैयाँ समेत बुझाउनु परिरहेको छ।”
यस्तै, माछा व्यवसायी सन्तोष पासवानले पनि नियमअनुसार ५० रुपैयाँ प्रतिदिन कर लाग्ने भए पनि आफूले दैनिक ३ सय रुपैयाँ नगद र आधा किलो माछा बुझाउनु परेको बताए।
जिराभवानी–४ का वडाध्यक्ष राजेश्वर दास थारुका अनुसार मोटरसाइकल पार्किङमा समेत व्यापक ठगी भइरहेको छ। पालिकाले प्रति मोटरसाइकल २० रुपैयाँ दर तोकेको भए पनि पार्किङ स्ट्यान्डले ५० रुपैयाँ असुलिरहेको उनले बताए। “मेला अनुगमन समितिलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको देखियो,” उनले आक्रोश व्यक्त गरे।
आरोपबारे प्रतिक्रिया दिँदै ठेकेदार प्रेम ख्वास थारुले पार्किङमा ५० रुपैयाँ लिएको स्वीकार गरे। अन्य मेला र खेलहरूमा पनि त्यही दर लिने गरिएको भन्दै उनले आफ्नो पक्षमा बचाउ गरे। जग्गा शुल्क भने मुख्य र शाखा सडकको आधारमा फरक परेको दाबी गरे, जुन पालिकाको सम्झौता विपरीत देखिएको छ।
मेला अनुगमन समितिका सचिव ऋषि हाजराले ठेकेदारलाई निर्धारित दररेटमा मात्र कर उठाउन मौखिक तथा लिखित निर्देशन दिइएको बताए। “मंगलबारसम्म पनि सुधार नभए प्रत्यक्ष कारबाही प्रक्रिया अघि बढाइनेछ,” उनले चेतावनी दिए।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका पर्यटक र भक्तजनको घुइँचो लाग्ने पवित्र मेलामा भएको यस्तो ‘खुलेआम ठगी’ ले पालिकाको साखमाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ।
महाशिवरात्रिको अवसरमा जिराभवानी मन्दिर परिसरमा आइतबारदेखि सुरु भएको विशेष मेला आगामी शनिबारसम्म सञ्चालन हुने जनाइएको छ। एक साता लामो धार्मिक तथा व्यापारिक मेलामा भक्तजन र व्यापारीको उत्साहजनक उपस्थिति भए पनि मनोमानी असुलीले मेलाको रौनक प्रभावित बनेको छ।