वीरगञ्ज, पर्सा — मनकामना बोर्डिङ स्कुल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकामना बोर्डिङ स्कुलको २७औँ वार्षिक उत्सव बुधबार एक समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका सञ्चालक एवं प्रधानाध्यापक पुरन प्रधानको सभापतित्व तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथि श्रीवास्तव, प्रधानाध्यापक प्रधान, सञ्चालिका संगीता प्रधान, सहायक प्रधानाध्यापक सुनिल यादव तथा संगीता श्रेष्ठलगायतले संयुक्त रूपमा केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले विद्यार्थीको जीवनमा उच्च शिक्षा मात्र नभई संस्कार र संस्कृतिको महत्व पनि उत्तिकै रहेको उल्लेख गर्दै शिक्षक–शिक्षिकाको योगदानलाई सधैं सम्मान गर्नुपर्ने बताए।
उनले विद्यालयमा सिकेका ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै समाज र राष्ट्र निर्माणमा योगदान दिन तथा अभिभावकको अपेक्षा पूरा गर्न विद्यार्थीहरू लाग्नुपर्ने धारणा व्यक्त गरे। विद्यालयले सिकाएका संस्कार र संस्कृतिलाई सम्मान गर्दै अघि बढेमा भविष्य उज्ज्वल हुने उनले बताए।
त्यसैगरी जगत राई ९झन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक तथा जगत समाचारका सञ्चालक० ले विद्यार्थीलाई शिक्षक–शिक्षिकाबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नो भविष्य निर्माण गर्न आग्रह गरे। उनले खराब संगतबाट टाढा रहँदै राम्रो संस्कार अपनाएमा समाजमा सम्मान प्राप्त हुने बताए।
समापन समारोहमा प्रिन्सिपल प्रधानले विद्यालयमा सिकेका सकारात्मक पक्षहरूलाई आत्मसात गर्दै अघि बढेमा विद्यार्थीको भविष्य सुनिश्चित हुने उल्लेख गर्दै विद्यालयको प्रतिष्ठा उच्च राख्न आग्रह गरे।
उत्सवमा सहायक प्रिन्सिपल सुनिल थापा, शिक्षिका संगीता श्रेष्ठ, सविहा प्रवीन, रञ्जना चौधरी, दीपिका सिंह, एजाज अख्तरलगायत शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमको स्वागत मन्तव्य कक्षा ९ की रिभा श्रेष्ठले दिएकी थिइन् भने सहजीकरण कक्षा ६ की एलिसा यादव र तुभा प्रवीनले गरेका थिए।