वीरगञ्ज, पर्सा — सेन्ट जेभियर्स बोर्डिङ स्कुलको २६औँ वार्षिक उत्सव समारोह आज एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालयका डाइरेक्टर डा। हरिशंकर साहको अध्यक्षता तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले दीप प्रज्वलन गरी औपचारिक शुभारम्भ गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यालयले विभिन्न उतारचढावका बीच २६ वर्षसम्म निरन्तर शैक्षिक सेवा प्रदान गर्दै पर्सा जिल्लामा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
उहाँले विद्यालयका पूर्वविद्यार्थी तथा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू आज समाज परिवर्तनका संवाहक बनेका छन्। देवेश मानवजस्ता हजारौं विद्यार्थी समाज, देश र राष्ट्रलाई चिनाउने काममा अग्रसर हुनु गर्वको विषय हो।”
विद्यालयका डाइरेक्टर डा. साहले गुणस्तरीय शिक्षासँगै अतिरिक्त खेलकुद, सांस्कृतिक तथा विभिन्न सह–पाठ्यक्रम गतिविधिमा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै विद्यालयलाई वीरगञ्जमा विशिष्ट पहिचान दिलाउन सफल भएको बताउनुभयो। उहाँले विद्यालय परिवार, अभिभावक तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
वार्षिक उत्सवका अवसरमा वर्षभरि विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक प्रतिस्पर्धा तथा खेलकुदमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा अन्य आकर्षक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।
समारोहमा प्याप्सनका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, मानव सेवा आश्रमका देवेश मानव तथा पत्रकार जगत राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।