वीरगंज वडा नम्बर–२३ प्रसौनी बिर्तामा नेकपा एमाले पर्सा क्षेत्र नम्बर १को चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा समानुपातिक उम्मेदवार बिचारी यादवले देशको विगत र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै अस्थिरताको अन्त्य र राष्ट्रको स्थायित्वका लागि एमाले नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरे। यादवले प्रसौनी बिर्ताबाट प्रदिप यादवको पक्षमा ९० प्रतिशत भन्दा बढि मत खस्ने दावी गरे । वडा नम्बर २३ लालकिला भएको बताउदै प्रदिप यादवलाई कसैले हराउन नसक्ने ठोकुवा गरे । राष्ट्रियताको रक्षा र संविधानको संरक्षणका लागि एकताबद्ध भई प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई भारी मतले विजयी गराउन यादवले आह्वान गरे।
यसैगरी उम्मेदवार प्रदीप यादवले संविधानको रक्षा तथा राष्ट्रिय स्वाभिमान सुदृढीकरणका लागि आफूले एमाले रोजेको स्पष्ट पार्दै मधेश आन्दोलनदेखि हालसम्मको आफ्नो राजनीतिक यात्रालाई स्मरण गरे। उनले जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता जनाउँदै भने, “काम गर्ने, जनताको सेवामा समर्पित र सक्षम उम्मेदवारलाई मत दिनुहोस्।”
यादवले क्षेत्र नम्बर–१ मा केही ‘बहुरूपिया’ तत्वहरूले बिचौलियामार्फत जनतालाई गुमराह पार्ने प्रयास गरिरहेको आरोप समेत लगाए। उनले फागुन २१ गतेको निर्वाचनमार्फत यस्ता तत्वहरूलाई परास्त गर्नुपर्ने बताउँदै “यो निर्वाचन देश बनाउने र देशलाई ध्वस्त पार्ने शक्तिबीचको प्रतिस्पर्धा हो” भन्ने धारणा राखे।

कार्यक्रमकै अवसरमा विभिन्न पार्टी परित्याग गरी जमुना यादवको नेतृत्वमा दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा सलिम मियाँ, कृष्णा यादव, कृष्णा कुशवाहा, सलामोदिन अन्सारी, कमरु अन्सारी र कवल दास लगायत रहेका छन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि हजरा, समानुपातिक उम्मेदवार विचारी यादव तथा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले गम्छा र फूलमाला लगाई स्वागत गरेका थिए।

वडा कमिटी सचिव राकेश साहले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, क्षेत्रीय समन्वय कमिटी अध्यक्ष मानदेव हजरा, वडा अध्यक्ष अवधकिशोर कुशवाहा लगायतले धारणा राखेका थिए। ईकाई कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतमा भएको कार्यक्रममा एमाले नेता जलन्धर पटेल, जयराम साह, जगरनाथ महतो, मनोज यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
