बाँयाहाते पेस बलर विशाल पटेलले ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि मधेश प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शुक्रबार जनकपुरमा भएको खेलमा १२४ रनको सामान्य योगफल बनाएको मधेशले उक्त योगफल डिफेन्ड गर्ने क्रममा लुम्बिनीलाई ९९ रनमा अलआउट गर्दै २५ रनको जित हासिल गर्यो ।
लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाए भने सन्देश थापाले १६ तथा कप्तान देव खनाल र सन्तोष यादवले समान १२ रन बनाए ।
मधेशका विशालले ९ ओभरमा २४ रन मात्र दिएर ५ विकेट लिए । प्रदिप पासवानले २ तथा रुपेश सिंह, मोहम्मद आदिल आलम र आशिक बैठाले १(१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा अलआउट हुँदै १२४ रन बनाएको थियो । मयन यादवले सर्वाधिक ३१ रन बनाए । आदिलले २३, पवन सर्राफले १९ रन बनाए ।
लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३–३ विकेट लिए भने अजय चौहानले २ अनि निर्मल गुरुङले १ विकेट लिए ।
प्रतियोगितामा मधेशले ३ खेल खेल्दा दोस्रो जित निकालेको हो । यसअघि कोशी प्रदेशसँगको पहिलो खेल वर्षाले रद्द भएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमलाई हराएको थियो ।
लुम्बिनीले भने एक जितपछि हार बेहोरेको छ । कर्णालीसँगको पहिलो खेल वर्षाले रद्द भएपछि लुम्बिनीले कोशीलाई पराजित गरेको थियो ।