नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले आयोजना गरेको ‘स्पोर्ट्स वीक २०८२’ को उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित फुटबल मैदानमा बिहान ९:३० बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रम कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रबन्ध निर्देशक शहनवाज अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशेष अतिथिका रूपमा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप-प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप-प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ तथा नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. बबिता सिंहलगायतको उपस्थिति रहेको थियो।
स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरेसिया, सदस्य सचिव जाफ्रे आलम अन्सारी र को-अर्डिनेटर मोहम्मद फिरोजले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। साथै मधेश प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान हाशिम अन्सारीको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि अध्यक्ष, प्रमुख तथा विशेष अतिथिहरूले मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरूले आकर्षक मार्चपास्ट प्रस्तुत गरेका थिए। स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गर्नुका साथै बलुन उडाएर कार्यक्रमलाई उल्लासमय बनाइएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेलसमेत सम्पन्न भएको थियो।
‘स्पोर्ट्स वीक २०८२’ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिएका छन्।
