आर्थिक सुस्तता, लगानीकर्ताको हिचकिचाहट र विश्वव्यापी प्रभावका बीच धादिङमा ठूलो लगानीको खाद्य उद्योग स्थापना हुने भएको छ।धादिङको नीलकण्ठ नगरपालिका–८ कमेरे गाउँमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानीमा फ्रेन्च फ्राई उद्योग निर्माण भइरहेको हो। धादिङबेँसी नजिकै रहेको उक्त क्षेत्रमा उद्योगका संरचना निर्माणसँगै मेसिन जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ।
उद्योग स्थापनासँगै आसपासका कमेरे, कोइराले, तल्लोबेँसी, ससाह, बिर्ताबेँसी र जलविरे फाँटमा आलुखेती विस्तार हुने अपेक्षा गरिएको छ। विगतमा परम्परागत रूपमा धान र मकै खेती हुँदै आएको यी क्षेत्रहरूमा अब नगदेबालीका रूपमा आलुखेतीप्रति किसानको आकर्षण बढेको छ।
स्थानीय किसानलाई आलु उत्पादनमा प्रोत्साहन गर्न उद्योगले उत्पादित आलु खरिद गर्ने प्रतिबद्धता जनाएको छ। साथै, वडा कार्यालयको सिफारिसमा कृषकहरूलाई आलु भण्डारणमा २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ।
नीलकण्ठ–८ का स्थानीय सीताराम कोइरालाले उद्योग स्थापनाले किसानमा उत्साह थपिएको बताउँदै अब उत्पादन भएको आलु सिधै उद्योगमा बिक्री हुने भएकाले आम्दानी बढ्ने विश्वास व्यक्त गरे।
उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र झन्डै २० हजार किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुने सञ्चालक रमेशभाइ अधिकारी ले जानकारी दिए। स्थानीय युवालाई प्राथमिकतामा राखी रोजगारी उपलब्ध गराइने उनको भनाइ छ।
जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित प्रणाली जडान गरिने यस उद्योगले दैनिक करिब १० टन आलु प्रशोधन गरी आलुजन्य परिकार उत्पादन गर्ने लक्ष्य राखेको छ। यसले कृषि उत्पादनमा मूल्य अभिवृद्धि गर्दै आन्तरिक बजारसँगै निर्यात सम्भावना पनि बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, सभामुख डोलप्रसाद अर्याल ले निर्माणाधीन उद्योग क्षेत्रको अवलोकन गर्दै निजी क्षेत्रको लगानी सुरक्षित बनाउन राज्य प्रतिबद्ध रहेको बताएका छन्।
कृषि र उद्योगबीचको दूरी घटाउँदै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा यो परियोजना महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।