वीरगंजस्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभा हलमा सोमबार कपिलवस्तुबाट आएको श्री बिहानी कृषि सहकारी संस्था लिमिटेडको टोलीसँग अवलोकन, भ्रमण, भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम गृहलक्ष्मी सहकारीका कार्यकारी अधिकृत रविभूषण श्रीवास्तवको अध्यक्षता तथा बिहानी कृषि सहकारीका अध्यक्ष लक्ष्मण आचार्य को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पर्सा जिल्लाका चर्चित सहकारी संस्थाहरूको कार्यप्रणाली, ऋण लगानी तथा असुली प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त भएको बताउँदै भ्रमण उपलब्धिमूलक रहेको उल्लेख गरे। उनले आफ्ना संस्थामा ऋण असुलीमा देखिएका समस्याको समाधानका उपाय र नियमबारे सिक्ने अवसर मिलेको भन्दै ती अभ्यासहरू कपिलवस्तुमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत तथा सीएमसी क्लबका संस्थापक अध्यक्ष जिष्णु बरालले सहकारी संस्थालाई व्यक्तिगत नभई संस्थागत रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले सञ्चालक, व्यवस्थापक र कर्मचारीबीच विश्वास तथा नियमको समान कार्यान्वयन भए संस्था अझ बलियो हुने बताए। समस्या देखिए तत्काल छलफलमार्फत समाधान गर्न सके सहकारी संस्था कहिल्यै नडुब्ने उनको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै गृहलक्ष्मी सहकारीका कार्यकारी अधिकृत श्रीवास्तवले आफ्नो संस्थाले पर्सा जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले संस्थाले तीन स्थानबाट सेवा प्रदान गर्दै एटीएम, एसएमएस तथा अनलाइन बैंकिङजस्ता आधुनिक सेवा सञ्चालन गरिरहेको जानकारी दिए। हाल संस्थामा करिब ४० करोड रुपैयाँ बराबरको मौज्दात सुरक्षित रहेको पनि उनले बताए।
उनका अनुसार ऋण प्रवाह गर्दा आवश्यक सम्पूर्ण कागजात, तीन पुस्तेसहितको विवरण तथा कानुनी प्रक्रिया पूरा गरेर मात्र ऋण लगानी गरिन्छ। ऋणीले समयमा भुक्तानी नगरेमा ३५ दिने सार्वजनिक सूचना जारी गरी सम्पत्ति लिलामीमार्फत रकम असुल गर्ने व्यवस्था रहेको उनले जानकारी दिए।
कार्यक्रममा बिहानी कृषि सहकारीका सचिव ईश्वरी खनाल, कोषाध्यक्ष भीमलाल गौतम, व्यवस्थापक प्रेमबहादुर क्षेत्री लगायत करिब ३० सदस्यीय टोलीको सहभागिता रहेको थियो।