वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका मानिने वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा झण्डै आठ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको उक्त अवधिमा कुल सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ मूल्य बराबरका विभिन्न वस्तु नेपाल भित्रिएका छन्।
यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढी हो। अघिल्लो आवको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै ६ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो। यस वर्षको आयात वृद्धिदर करिब १५ प्रतिशत रहेको छ, जुन मूल्यका आधारमा एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँले बढी हो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट ले चालु आर्थिक वर्षमा विशेषगरी पेट्रोलियम पदार्थ, फलाम तथा फलामजन्य वस्तुको आयात उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार औद्योगिक गतिविधि विस्तार, निर्माण क्षेत्रको चलायमान अवस्था तथा बजारमा बढ्दो मागका कारण आयात बढेको हो।
उनले भने, “पेट्रोलियम पदार्थको खपत वृद्धि, उद्योग तथा पूर्वाधार निर्माणमा प्रयोग हुने फलामजन्य सामग्रीको माग बढ्नु, साथै विभिन्न मेसिनरी उपकरणको आयात बढ्नुले समग्र आयात व्यापार उकालो लागेको देखिन्छ।”
तथ्यांकअनुसार चालु आवको १० महिनामा मात्रै एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्। डिजेल, पेट्रोल, एलपी ग्यास, मट्टितेल र हवाई इन्धनको आयात उच्च परिमाणमा भएको भन्सार कार्यालयले जनाएको छ। नेपालमा ऊर्जा आवश्यकताको ठूलो हिस्सा आयातमै निर्भर भएकाले पेट्रोलियम पदार्थको आयात निरन्तर उच्च रहने गरेको छ।
त्यसैगरी, निर्माण तथा औद्योगिक क्षेत्रमा अत्यधिक प्रयोग हुने फलाम तथा फलामबाट बनेका सामग्रीको आयात पनि उल्लेख्य रहेको छ। चालु आवको १० महिनामा ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरका फलाम तथा फलामजन्य वस्तु नेपाल भित्रिएका छन्। सिमेन्ट उद्योग, भवन निर्माण, सडक तथा पुल निर्माणलगायत क्षेत्रमा ती सामग्रीको माग बढ्दै गएको देखिन्छ।
यस्तै, उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक मेसिनरी तथा पार्टपुर्जाको आयात पनि उच्च रहेको छ। उक्त अवधिमा ५७ अर्ब ६६ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरण तथा पार्टपुर्जा आयात भएका छन्। उद्योग विस्तार र उत्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यले व्यवसायीहरूले नयाँ उपकरण भित्र्याइरहेको भन्सार अधिकारीहरूको भनाइ छ।
खाद्य तथा तेल उद्योगसँग सम्बन्धित कच्चा पदार्थको आयात पनि उल्लेख्य छ। सो अवधिमा ५५ अर्ब सात करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको तथ्यांकमा उल्लेख छ। नेपालका विभिन्न रिफाइनिङ उद्योगले सो तेल प्रशोधन गरी खाने तेल उत्पादन गर्दै आएका छन्।
व्यापारविद्हरूका अनुसार वीरगञ्ज नाका नेपालको आयात–निर्यात व्यापारको सबैभन्दा व्यस्त र महत्वपूर्ण केन्द्रमध्ये एक हो। विशेषगरी भारतसँगको व्यापारिक पहुँच सहज भएकाले अधिकांश औद्योगिक तथा उपभोग्य सामग्री यही नाका हुँदै नेपाल भित्रिने गर्छ।
आयातमा वृद्धि भए पनि निर्यात अपेक्षाकृत कमजोर रहँदा व्यापार घाटा भने अझै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थविद्हरू बताउँछन्। उत्पादनमूलक उद्योगको विकास र स्वदेशी उत्पादन वृद्धि गर्न नसकेसम्म आयातमा निर्भरता घटाउन कठिन हुने उनीहरूको धारणा छ।