नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। साताको पहिलो कारोबार दिन सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। पछिल्ला महिनाहरूमा सुनको मूल्य निरन्तर उकालो लागेपछि बजारमा खरिद–बिक्रीमा समेत असर देखिएको व्यवसायीहरूको भनाइ छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा यसअघि सुन र चाँदी दुवैले ऐतिहासिक मूल्य कायम गरेका थिए। गएको माघ १५ गते एकैदिन सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य मानिएको छ।
उक्त दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।
यद्यपि त्यसको तीन दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्यमा ठूलो गिरावट आएको थियो। त्यसदिन चाँदी प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन नेपाली बजारमा चाँदीको मूल्यमा आएको हालसम्मकै सबैभन्दा ठूलो एकदिने गिरावट मानिन्छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको माग, अमेरिकी डलरको विनिमय दर, विश्व आर्थिक अवस्था तथा लगानीकर्ताको मनोविज्ञानका कारण सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गरेको छ। पछिल्लो समय विश्व बजारमा देखिएको आर्थिक अनिश्चितता र लगानी प्रवृत्तिका कारण बहुमूल्य धातुको मूल्यमा तीव्र परिवर्तन भइरहेको छ।