काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा १९ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ। विदेशमा रहेका नेपालीले पठाउने रकम रेमिट्यान्स आप्रवाह गत वैशाखमा ४१.२ प्रतिशतले बढेको छ।
खाडी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी भइरहेका बेला वैशाखमा पनि उच्च वृद्धि देखिएको हो। वैशाखसम्म नेपाल आएको रेमिट्यान्स गत आर्थिक वर्षभरि भित्रिएकोभन्दा बढी हो। गत आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो। २०८२ वैशाखसम्म रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले बढेको थियो।
यस्तै, २०८३ वैशाखमा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम मासिक रूपमा हालसम्मकै बढी हो। यसअघि चैतमा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। गत वर्षको वैशाखमा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड थियो। वैशाखमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।
‘अमेरिकी डलरको विनिमय दरमा आउने उतारचढाव र महिनाको अन्तिम दिन विदेशमा सार्वजनिक बिदा भएको महिनामा ४/५ प्रतिशत रेमिट्यान्स घट्छ। वैशाखको अन्तिम दिन बिहीबार थियो। यसकारण पनि केही धेरै रेमिट्यान्स आएको छ,’ नेपाल मुद्रा विप्रेषक संघका पूर्वअध्यक्ष चन्द्र टन्डनले भने, ‘डलरको भाउ बढ्नु र युरोप क्षेत्रबाट धेरै रेमिट्यान्स आउन थाल्नुले पछिल्ला महिनामा निरन्तर रेमिट्यान्स बढिरहेको छ।’
हाल नेपाल आउने रेमिट्यान्सको करिब ४० प्रतिशत पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो हिस्सा घट्दो छ। हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन्
आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो। त्यसमा खाडी मुलुकको हिस्सा करिब ३९ प्रतिशत (६ खर्ब ७३ अर्ब) थियो। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ३८.९ र आर्थिक वर्ष २०७९/८० मा ४५.१ प्रतिशत हिस्सा खाडी क्षेत्रको छ। यसबाहेक गत चैतसम्म नेपाल आएको कुल रेमिट्यान्समा भारतको हिस्सा १० प्रतिशत, यूके, अस्ट्रेलिया र मलेसियाको करिब ६/६ प्रतिशत रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समयमा औपचारिक माध्यममार्फत रेमिट्यान्स पठाउने प्रवृत्ति बढेको देखिन्छ। बैंकिङ प्रणाली, डिजिटल भुक्तानी पूर्वाधार तथा रेमिट कम्पनीहरूको पहुँच विस्तारसँगै अनौपचारिक च्यानलबाट औपचारिक च्यानलतर्फ सर्ने प्रवृत्ति बढेको अनुमान गर्न सकिन्छ ।
उच्च दरले रेमिट्यान्स बढेको सकारात्मक प्रभाव विदेशी मुद्रा सञ्चितिमा पनि परेको छ। जसअनुसार वैशाखसम्म विदेशी मुद्रा (विनिमय) सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत असारको तुलनामा यो १० खर्ब २६ अर्ब रुपैयाँ अर्थात् ३८.३ प्रतिशतले बढेको हो। २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो। ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ वैशाख मसान्तमा २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ।
आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ। यस वर्ष कम्तीमा ७ महिनालाई आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने राष्ट्र बैंकको लक्ष्य थियो। २०८३ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ६०.७ प्रतिशत हो।
चालु आर्थिक वर्षको १० महिनाको औसत मूल्यवृद्धिदर २.६६ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४.३९ प्रतिशत थियो। यस्तै, महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.६०, घिउ तथा तेलको १३.९९, तरकारीको ५.४० र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ। तर, दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६७ र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ।