वीरगंज महानगरपालिकाको २०औँ नगरसभा बुधबार सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट पारित गरेको छ।
बुधबार आयोजित नगरसभाको २०औँ अधिवेशनमा कार्यवाहक मेयर इम्तियाज आलमको तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।
महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष २०८२र०८३ का लागि महानगरको कुल बजेट ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ रहेको थियो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४।३ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४।६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् १।१ प्रतिशत बजेट छुट्याइएको छ।
महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतहरू निर्धारण गरेको छ। जसअनुसार संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ तथा प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने जनाइएको छ।
बजेट प्रस्तुत गर्दै नगर कार्यपालिका सदस्य कानुले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन, उद्योग प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई आगामी आर्थिक वर्षको प्राथमिकतामा राखिएको जानकारी दिए।
यसअघि नगरसभामा कार्यवाहक मेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यवाहक मेयर आलमको अध्यक्षतामा सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा महानगरपालिकाका कर्मचारीहरूको सहभागिता थियो।