युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा आयोजित दुईदिने पर्सा चेस च्याम्पियनसिप–२०८३ आइतबार सम्पन्न भएको छ। वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा क्लबका करिब एक सय खेलाडीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोह पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मुनलाइट स्कुलका संस्थापक श्याम केसी, मानवसेवा आश्रमका देवेश गुप्ता, ओम झा, सञ्चारकर्मी अभिलाष गुप्ता, अजित भुजेल, उज्ज्वल घिमिरे, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार तथा बीपीसी कलेजका बासु कर्णलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी तथा प्रमुख निर्णायक काठमाडौंका मिसन बास्कोटा रहेका थिए। स्विस लिग प्रणालीअन्तर्गत सात चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पहिलो दिन चार तथा दोस्रो दिन तीन चरणका खेल सम्पन्न गरिएका थिए।
प्रतियोगिताको बालकतर्फ मुनलाइट स्कुलका ब्राह्मण विश्वास झा प्रथम हुँदै च्याम्पियन बने। रिसब कुमार द्वितीय तथा संस्कार आर्याल तृतीय स्थानमा रहे। यस्तै बालिकातर्फ मुनलाइट स्कुलकी सनम श्रेष्ठ प्रथम भइन् भने आफ्रिन खातुन द्वितीय र दिभ्यान्सी सिकारिया तृतीय स्थान हासिल गर्न सफल भए।
विजेता खेलाडीहरूलाई प्रमाणपत्र, शिल्ड तथा सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउनु हो। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिताका लागि समेत प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिएको छ।
जिल्लामा बुद्धीचाल खेलप्रति विद्यार्थी तथा युवाको बढ्दो आकर्षणलाई प्रतियोगिताले थप ऊर्जा दिएको आयोजकको भनाइ छ। नियमित रूपमा यस्ता प्रतियोगिता आयोजना गरिए नयाँ खेलाडी उत्पादन हुनुका साथै पर्सालाई बुद्धीचाल खेलको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।