२९ साउन, सिड्नी । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा लगाइएको कडा प्रतिबन्धपछि प्रविधि दिग्गज कम्पनी मेटाले ठूलो कारबाही गरेको छ । नाबालकहरूले सञ्चालन गरिरहेको आशंकामा कम्पनीले गत डिसेम्बरदेखि जुनसम्मको अवधिमा साढे सात लाखभन्दा बढी अकाउन्टहरू खारेज गरिदिएको छ ।
बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै अस्ट्रेलियाली सरकारले यो नयाँ कानुन कार्यान्वयनमा ल्याएको हो ।
मेटाका अनुसार प्रतिबन्धित अवधिमा हटाइएका कुल अकाउन्टहरूमध्ये सबैभन्दा धेरै इन्स्टाग्रामका रहेका छन् । इन्स्टाग्रामबाट ४ लाख ६२ हजार र फेसबुकबाट २ लाख ९४ हजार गरी कुल ७ लाख ५६ हजारभन्दा बढी अकाउन्टहरू बन्द गरिएको कम्पनीले जनाएको छ ।
प्रतिबन्ध कार्यान्वयनमा आएको सुरुवाती तीन महिनामा सरकारी तथ्यांक तथा स्वतन्त्र अध्ययनहरूले ८० प्रतिशतभन्दा बढी नाबालकहरू अझै पनि विभिन्न माध्यमबाट सामाजिक सञ्जाल चलाइरहेको देखाएका थिए। त्यसयता नियम कडाइ गर्दै मेटाले एआई प्रविधिको प्रयोगमार्फत उमेर समूह पत्ता लगाउन थालेको छ ।
मेटाले प्रयोगकर्ताका प्रोफाइलमा जन्म दिनको शुभकामना, विद्यालयको कक्षा वा अध्ययनसँग जोडिएका संकेतहरू र अन्य डिजिटल गतिविधिका आधारमा नाबालकका अकाउन्टहरू पहिचान गरिरहेको स्पष्ट पारेको छ । साथै, हटाइएका अकाउन्टहरू पुनः फर्जी विवरण भरेर खोल्ने प्रयासलाई असफल बनाउन कडा सुरक्षा उपायहरू अपनाइएको कम्पनीको भनाइ छ ।
अस्ट्रेलियाली सरकारले कानुनको पालना नगर्ने प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै अझ कडा नियम अघि बढाएको छ । नियम उलङ्घन गर्ने कम्पनीलाई अधिकतम ९ करोड ९० लाख अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्ने तथा नियामक निकायको अधिकार व्यापक रूपमा बढाउने नयाँ प्रस्तावसमेत संसद्मा विचाराधीन छ ।
यसैबिच, यस कानुनको कार्यान्वयन र अपनाइएका सुरक्षा उपायहरूसरकारलाई जानकारी गराउन मेटा, टिकटक, गुगल र स्न्यापच्याटका उच्च प्रतिनिधिहरू अस्ट्रेलियाली संसदीय छानबिन समितिसामु उपस्थित भएर स्पष्टीकरण दिँदैछन् ।