वीरगञ्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो।यसअघि शनिबार हरिखेतान बहुमुखी कलेजमा आयोजित एक कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका सुरेशकुमार रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहतका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए। तर, घोषणाको भोलिपल्टै रुङ्टा ग्रुपले प्रतिबद्धताभन्दा ६ गुणा बढी अर्थात् २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। विपद्को समयमा गरिएको यो सहयोगलाई सामाजिक उत्तरदायित्व र मानवताको भावनाबाट प्रेरित महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेको अवस्थामा प्रभावित परिवारलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको रुङ्टा ग्रुपले जनाएको छ।
उक्त सहयोगबाट बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
रुङ्टा ग्रुपले उद्योग तथा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न विपद्, स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको छ।
ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यकता र परिस्थितिअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद्को कठिन घडीमा रुङ्टा ग्रुपले गरेको २ करोड १ लाख रुपैयाँको सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रबाट गरिएको यो सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा समेत देखिएको छ।