वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न कामका लागि रसुवा पुगेका पर्सासहित विभिन्न जिल्लाका ३६ जना अझै सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालय पर्साले खोजी तथा उद्धारका लागि ३९ जनाको सूची सार्वजनिक गरेको हो।
प्रशासनका अनुसार सूचीमा रहेका ३९ जनामध्ये तीन जना परिवारको सम्पर्कमा आइसकेका छन् भने ३६ जनाको अवस्था अझै अज्ञात छ। सम्पर्कविहीन हुनेमा पर्सा, बारा, मकवानपुर, सर्लाही, सिन्धुलीलगायत जिल्लाका नेपाली तथा भारतको बिहारका नागरिक छन्।
उनीहरूमध्ये अधिकांश मजदुर, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, ट्रक तथा कन्टेनर चालक–सहचालक र अन्य कामदार रहेका छन्। केही व्यक्ति रसुवाको टिमुरे, घट्टेखोला, पट्टेखोला, त्रिशूली बजार तथा बेत्रावती क्षेत्रमा काम गर्ने क्रममा सम्पर्कविहीन भएका हुन्।
प्रशासनले सार्वजनिक गरेको सूचीमा सर्लाहीका ज्ञानबहादुर थिङ, श्यामलाल मोक्तान र पर्सागढी–९ का प्रहरी हवल्दार सरवनकुमार यादव भने परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्। तर पर्साका प्रहरी हवल्दार ओजिर अन्सारीसहित अन्य ३६ जनाको खोजी जारी छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। खोज तथा उद्धारका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।
भोटेकोशी बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।
