वीरगञ्ज, ८ असोज । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जीएचपी स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीको संयुक्त प्रयासमा संकलन गरिएको उक्त रकम एक कार्यक्रमबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरिएको हो।
विद्यालय परिवारको तर्फबाट संकलित सहयोग रकम पर्साका जिल्ला शिक्षा अधिकारी मोतीराम भट्टराईलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
सो अवसरमा भट्टराईले विपत्तिको समयमा शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको साथमा उभिनु प्रशंसनीय कार्य भएको बताए। यस्ता सहयोग र ऐक्यबद्धताले संकटका बेला समाजमा मानवीय भावना मजबुत बनाउनुका साथै राष्ट्रलाई समेत थप बलियो बनाउने उनले धारणा व्यक्त गरे।
विद्यालयका अनुसार बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले शिक्षक तथा कर्मचारीबाट स्वस्फूर्त रूपमा सहयोग रकम संकलन गरिएको हो।
विद्यालय परिवारले सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा परोपकारी कार्यलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा विद्यालयका डाइरेक्टर जस्प्रीत सिंह (ज्याक), शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।